शिक्षकको कुटाईबाट सल्यानमा एक बिद्यार्थी घाइते

शिक्षकले फलामको स्केलले बिद्यार्थीको टाउँकोमा हानेर घाइते बनाएको अभिभावकको भनाई

शिक्षकको कुटाईबाट सल्यानमा एक बिद्यार्थी घाइते

सल्यान -   सल्यानमा शिक्षकको कुटाईबाट एक बिद्यार्थी घाइते भएका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नंम्बर ६ लुहाममा रहेको सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययरत १२ बर्षिय अरुण बिक कक्षा शिक्षक चन्द्र बहादुर डाँगीको कुटाईबाट घाइते भएका हुन् । 

आइतबार दिउँसो कक्षाकोठामा पठनपाठन भैरहेको बेला शिक्षक डाँगीले फलामको स्केलले बिद्यार्थीको टाउँकोमा हानेर घाइते बनाएको अभिभावकले बताएका छन् । 

शिक्षकको कुटाईबाट घाइते भएका अरुणलाई लुहाममै प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल सल्यानमा थप उपचार गरिएको आमा तुलसी बिकले जानकारी दिनुभयो । बिद्यालयमा पढ्न गएको छोरालाई रक्ताम्मे हुने गरेर कुट्ने शिक्षकलाई कारवाही हुनुपर्ने उहाँको भनाइ छ । ‘बिद्यार्थीको गल्ति भए कारवाही गर्नुपर्छ, सजाय अरु पनि छन्, नभए अभिभावकलाई जानकारी दिनुपर्छ, तर पढ्न पठाएको छोरालाई रक्ताम्मे हुने गरेर कुट्नु राम्रो भएन’ उहाँले भन्नुभयो ।

उहाँले बिद्यार्थी कुट्ने शिक्षकलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुहाममा निवेदन दिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नवीन कार्कीले यस घटनाका सम्बन्धमा प्रहरीमा पिडित पक्षले ठाडो निवदेन दिसकेको जानकारी दिनुभयो । ‘यस बिषयमा भोली थप छलफल हुन्छ, पिडित परिवारकै सहमतिमा आवश्यक प्रक्रिया अघि बढ्छ’ उहाँले भन्नुभयो ।

यता सल्यान पब्लिक स्कुलका फाउण्डर नेव बहादुर खड्काले कक्षाकोठामा हल्ला भैरहेको बेला कक्षा शिक्षकले यसो नगर भन्दा फलामको स्केलले बिद्यार्थीको टाउकोमा लागेको बताउनुभयो ।

 ‘घटना त्यस्तो केही पनि होइन्, यसो नगर भन्दा फलामको स्केलले बिद्यार्थीको टाउकोको पछाडीको भागमा लागे छ, थोरै काटिएको छ, रगत आएकाले मेडिकलमा लग्यौँ’ उहाँले सल्यान टुडेलाई भन्नुभयो ‘भोली यस बिषयमा छलफल गर्छौ, उहाँ (कक्षा शिक्षक) सँग पनि घटनाका बारेमा बुझ्छौँ, र संस्थागत निर्णय गरेर अघि बढ्छौँ ।’ सल्यानटुडे

प्रतिक्रिया