सदरमुकामको फैन्सी पसलमा आगलागी

सदरमुकामको फैन्सी पसलमा आगलागी
सुन्नुहोस्

दैलेख – जिल्ला सदरमुकाम दैलेखबजारको एक फैन्सी पसलमा गएराति आगलागी भएको छ । गएराति सवा १० बजेतिर बन्द भएको पसलभित्र आगलागी भएको सूचना पाएको पाँच मीनेटमा प्रहरी र दमकल पुगेर आगो नियन्त्रणमा लिइएको थियो ।

‘हामीले खबर पाउने बित्तिकै दमकललाई खबर ग¥यौं, पाँचै मीनेटमा दमकल पनि पुग्यो । तत्काल आगो नियन्त्रण लिन सजिलो भयो’ जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले भन्नुभयो । ‘बिजुली गएको बेला थियो, इन्भर्टर सर्ट भएर आगो लागेको अनुमान छ’ डीएसपी दाहालले बताउनुभयो । 

जिल्ला सदरमुकामको त्रिभुवन मावि दैलेखबजारको सटरकोलमा रहेको दैलेख उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौडेलको अन्नपूर्ण इन्टरप्राइजेजमा उक्त आगलागी भएको हो । आगलागीबाट अनुमानित ६० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 

गएको चैत २१ गते त्यही नजिक मोटरसाइकल मर्मत गर्ने क्रममा भएको आगलागीले तीन वटा पसलमा क्षति पुगेको थियो । त्यसबेला दमकलको ढिलाइले बढी क्षति भएको भनी नारायण नगरपालिकाको आलोचना भएको थियो । प्रहरी र दमकल समयमा पुगेर यसपटक थप ठूलो क्षति हुनबाट जोगिएको भन्दै स्थानीयले प्रशंसा गरेका छन् । 

गएराति आगलागीको सूचना पाउनासाथ घटनास्थलमा पुगेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका सुरक्षाकर्मीहरु र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहाल आफै घटनास्थलमा पुग्नुभएको थियो । 

प्रतिक्रिया