हुम्लामा उन्नत जातका बाख्रा पाल्ने किसानको संख्या वर्षेनी बढ्दै

हुम्लामा उन्नत जातका बाख्रा पाल्ने किसानको संख्या वर्षेनी बढ्दै

सिमकोट – हिमाली जिल्ला हुम्लाका किसान उन्नत (खरी जाति) जातका बाख्रा पालन पालन गर्ने किसानको संख्या वर्षेनी रुपमा बढ्दै गएको पाईएको छ। स्थानीय बाख्रा भन्दा उन्नत जातका बाख्रा पालनबाट बढी फाईदा हुने देखिएपछि किसानहरु संस्थागत र ब्यक्तिगत रुपमा खरिद गरेर पाल्न थालेका हुन्।


भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्णबहादुर रोकायाले पछिल्लो दुई वर्षयता उन्नत जातका बाख्रा पाल्ने किसानको सङ्ख्या बृद्धि भएको बताउनुभयो । उहाँले  आफ्नो कार्यालयबाट मात्र किसानको माग अनुसार अनुदानमा बाख्रा सहयोग गरिएको जानकार दिनुभयो ।

गाउँपालिका अनुसार चङ्खेली गाउँपालिका १ मा १३३ वटा, सर्केगार्ड गाउँपालिका– २ मा ३३, अदानचुली गाउँपालिका– १ र २ मा क्रमश ३० र ३९ तथा ताँजाकोट गाउँपालिका– १ मा ३९ गरि २८३ उन्नत बाख्रा सहयोग गरिएको छ। उहाँले यसअघि स्थानीय बाख्रा मात्र पालन हुने गरेकोमा त्यसबाट खासै फाईदा नदेखेपछि उन्नत जातका बाख्रा पालनतर्फ किसान लागेको बताउनुभयो ।

उहाँले स्थानीय बाख्रा वर्षमा एक पटक मात्र ब्याउने तर उन्नत जातका बाख्रा राम्रोसंग पालन पोषण गर्न सके दुई वर्षमा तीन पटक पनि ब्याउने भएको कारण फाईदा देखेपछि किसानको आर्कषण बढेको बताउनुभयो ।

यसअघि कार्यालय र अन्य पशु बिकासका क्षेत्रमा काम गर्दै आएको निकायहरुले स्थानीय बाख्रा मात्र खरिद गरेर दिने गर्दै आएकोमा हाल किसानबाटै उन्नत जातको बाख्राको माग आउन थालेपछि यी बाख्रा पाल्नेको संख्या बढी रहेको हो। खार्पुनाथ गाउँपालिका– ५ का किसान जोर बोहराले यसवर्ष मात्र चार सय उन्नत जातका बाख्रा अछाम, बझाङ लगाएतका जिल्लाबाट खरिद गरेर ल्याई किसानलाई बिक्री गरेको बताउनुभयो ।

ती बाख्राहरु आकार हेरी बाह्र देखि सत्र हजारमा उहाँले बिक्री गर्दै आएका छन्। हाल पनि उनीसं दुई सय उन्नत जातका बाख्रा बिक्रीका लागि रहेका छन्। किसानहरुले पनि ब्यापारीबाट पाँच वटासम्म बाख्रा खरिद गरेर पालन गर्न थालेका छन्।

छिटो बढ्ने, मासु बढी हुने र पाल्न पनि सजिलो भएको कारण पनि बाख्रा पाल्ने किसानहरु उन्नत जातका बाख्रा पालनमा आर्कषित भएका हुन।

अर्को कुरा जलवायु परिवर्तनको कारण गमी बढेपछि उन्नत जातका बाख्रा पालनमा सहज भएको कृषि प्राविधिकको भनाई रहेको छ। पहिले चिसो बढी हुने भएको कारण ती बाख्रा पाल्न नसकिने र हाल गर्मी बढेपछि सदरमुकाम सिमकोटमा समेत ती बाख्रा पालन हुन थालेका छन्।

प्रतिक्रिया