दैलेखमा बाढी–पहिरोको उच्च जोखिम !

दैलेखमा बाढी–पहिरोको उच्च जोखिम !
सुन्नुहोस्

दैलेख – मनसुनी वर्षाको सुरुसंगै निरन्तर वर्षा भइरहेकोले सम्भावित बाढी, पहिरो र यस्ता अरु विपदबाट सजग रहन सरोकारवालाले आमसर्वसाधारणलाई आह्वान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले दैलेख लगायतका ३० जिल्लामा भारी वर्षाको चेतावनी दिएको बेला यो किसिमको चिन्ता भएको हो । 

जिल्ला प्रशासन कार्यालय दैलेखले सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठकमा सहभागी प्रहरी, प्रशासन, राजनीतिक दल, स्थानीय सरकार, रेडक्रस लगायतका सरोकारवावाहरुले यस्तो आह्वान गरेका हुन् । 

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले पूर्वानुमानहरु मिल्ने गरेको प्रष्ट्याउदै असार २३ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई बेवास्ता नगर्न सचेत रहन आग्रह गर्नुभयो । 

कार्यक्रममा जिसस प्रमुख नमराज शाही, नेकपा माओवादी केन्द्रका इञ्चार्ज प्रेमबहादुर कटुवाल, नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा लगायतले जिल्लाको विपद प्रतिकार्य योजना र यसको उचित कार्यान्वयन विषयमा बोल्नुभएको थियो । 

सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले विपद व्यवस्थापन सम्वन्धी राष्ट्रिय रणनीति, दैलेखको बस्तुनिष्ट जिल्ला स्तरीय विपद व्यवस्थापन प्रतिकार्य योजना अनुमोदनका लागि जिल्ला स्तरीय विपद व्यवस्थापन समितिमा दफाबार छलफल सहजीकरण गर्नुभएको थियो । 

जिल्ला स्तरीय विपद व्यवस्थापन प्रतिकार्य योजनामा दैलेखमा बाढी पहिरोको उच्च जोखिम रहेको, हावाहुरी, चट्टयांग, झाडापखाला, आगलागी जस्ता विपदका सम्भावना समेत रहेको औंल्याउदै त्यस अनुसार विपदहरूको बेला उद्धार, राहत तथा पुनस्थापना कार्यको जोहो गरिनुपर्ने औल्याइएको छ । 

विपदको जोखिमको स्तरीकरण, विपदमा राहत तथा पुरस्थापना, मानवीय सहायता, सहकार्य र श्रोतको पहिचान तथा परिचालन, आपत्कालिन सहायता केन्द्र स्थापना, उद्धार तथा सहायता सामग्रीको तयारी प्रभावकारी बनाउन जिल्ला स्तरीय विपद समितिको बैठकले १० बुदे निर्णय गरेको छ ।  
 

प्रतिक्रिया