जुम्लामा निर्माणाधीन पुल भत्किँदा कामदारको मृत्यू

जुम्लामा निर्माणाधीन पुल भत्किँदा कामदारको मृत्यू

जुम्ला - पातारासी गाउँपालिका–१ डलिगाड खोलामा निर्माणाधीन पुल भत्किँदा एक जना कामदारको मृत्यू हुनुसंगै तीन जना घाइते भएका छन् । शनिबार दिउँसाे कामदारहरू काम गरिरहँदा पुल भत्किएर मानवीय क्षति भएकाे  प्रहरीले जनाएको छ ।

पुल भत्किँदा ढुंगाले च्यापिएर पातारासी गाउँपालिका–१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही ठाउँका स्थानीय ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेस बुढा र १६ वर्षीय धन ऐडी घाइते हुनुभएको छ । 

घाइते तीनै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । घटनास्थलमा पुग्नुभएका गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकायले गुणस्तरहीन सामाग्रीको प्रयोग र चरम लापरबाहीका कारण पुल भत्किएको टिप्पणी गर्नुभयो । 

यो पुल कर्णाली प्रदेश सरकारको बजेटबाट बन्दै थियो । स्थानीय नैनसिंह ऐडीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी माथि कारबाही हुनुपर्ने बताउनुभयो । ठेकेदारले कल्भट निर्माण गर्दा कमसल सामाग्रीको प्रयोग गरेको र बनाउँदै गरेको पुल भत्किएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया