जिल्ला अस्पतालसल्यान सल्यानमा सर्पदंशको उपचार सुरु

जिल्ला अस्पतालसल्यान सल्यानमा सर्पदंशको उपचार सुरु

सल्यान - सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु भएको छ। गर्मी र वर्षाको समयमा सर्पको टोकाइको जोखिमलाई मध्यनजर गर्दै सर्पदंशको उपचार सेवा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

सर्पदंश हुनेबित्तिकै उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि अस्पतालमा एन्टी स्नेक भेनमसहित बिरामीहरूको उपचार सुरुवात गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य व्यवस्थापक डा. अर्जुनकुमार बुढाले जानकारी दिनुभयो ।

सर्पदंशबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सर्पदंश उपचार सेवा सुरु गरिएको उहाँको भनाइ छ। सर्पले टोकेमा धामीझाँक्री तथा झारफुकमा नगई बिरामीलाई सीधै अस्पतालमा ल्याउन उहाँले आग्रह गर्नुभयो ।

सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने अस्पतालका मेडिकल अधिकृत डा. आकाश मण्डलले बताउनुभयो ।

सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झमझमाउनेजस्ता लक्षण देखिने मण्डलले जानकारी दिनुभयो ।

प्रतिक्रिया