अवरुद्ध कर्णाली राजमार्गको कालीकोट खण्ड अझै खुलेन

अवरुद्ध कर्णाली राजमार्गको कालीकोट खण्ड अझै खुलेन

काठमाडौँ – वर्षासँगै आएको पहिरोले अवरुद्ध भएका कर्णाली राजमार्गको विभिन्न खण्डहरू अझै खुलेका छैनन् । कालीकोटको एस मोड र राकाममा गएराति पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

यसअघि शुभकालीका गाउँपालिका–१ गगनेखोला, खाँडाचक्र नगरपालिका–२ हुल्म, शेरीघाट र खाँडाचक्र–४ छेकामा पहिरो जाँदा गएको शुक्रवारदेखि नै राजमार्ग अवरुद्ध भएको छ । पानी पर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक खुलाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

वर्षाका कारण कालीकोटमा बिजुलीको पोलसमेत ढलेको र यस मोडका धेरै घर बिजुलीविहीन भएका छन् । अहिले पानी पर्ने क्रम कम भएपछि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन समस्या हुँदा सुर्खेत, नेपालगञ्जदेखि कालीकोट, जुम्ला र मुगु आवतजावत गर्ने गाडी र यात्रु अलपत्र परेका छन् ।

यस्तै वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण कच्ची अवस्थामा रहेका खोटाङका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडक अवरुद्ध भएपछि पालिकाहरू राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । जन्तेढुङ्गा, बाराहापोखरी र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि कुनै पनि गाडी सञ्चालन हुन सकेको छैन । 

केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि झरीले बाटो हिलाम्य हुँदा गाडी सञ्चालन हुन नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको जानकारी दिनुभयो ।

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक पनि अवरुद्ध छ । सङ्घीय राजधानी काठमाण्डौ जोड्ने मध्यपहाडी लोकमार्ग भने निरन्तर सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

२ सय १३ वटा राष्ट्रिय राजमार्गमध्ये बाढी ,पहिरो र अन्य कारणबाट २२ वटा राजमार्ग अवरुद्ध रहेका छन् । १ सय ८ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् भने ८३ वटा राजमार्ग दुवैतर्फ सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।

प्रतिक्रिया