युवायुहरु बिदेश पलायन हुँदा रोपार पाउनै मुस्किल

युवायुहरु बिदेश पलायन हुँदा रोपार पाउनै मुस्किल

चितवन -  असार महिना सकिनै लाग्दा चितवनका किसान रोपार खोज्नमा व्यस्त छन् । व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन् । उनले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छन् ।

उहाँले भन्नुभयो, ‘स्थानीय रोपार पाउनै कठिन भएको छ । यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ ।’ युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उहाँले बताउनुभयो  । उहाँले भन्नुभयो, ‘युवाहरूमा समेत काम गर्ने जाँगर नहुँदा स्थानीय मजदुर पाउन कठिन भएकाले अन्यत्रबाट मजदुर प्रयोग गर्न थालेका छौँ ।’

पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उहाँले बताउनुभयो  । सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको गुनासो छ । यस्तै समस्यामा हुनुहुन्छ भरतपुर–२४ का रतिमाया गुरुङ । उहाँ अहिले पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा छिन् ।

तर उहाँलाई रोपार पाइने हो या होइन भन्ने डरले निकै सताएको छ । अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपारलाई प्रयोग गर्नुभएको छ । भरतपुरकै शिव शर्मा अहिले रोपारकै खोजीमा हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘स्थानीय रूपमा काम गर्न सक्ने युवायुवती विदेश पलायन भइसके । अब कसरी खेती गर्ने ।’

उहाँले अहिले स्थानीय रूपमा वृद्धवृद्धा बाहेक समाजमा कोही नहुँदा कृषिकर्मसमेत समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो  । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन् ।’

स्थानीय रूपमा पाइने कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय काम लिन नसकिने गरेको गुनासो आउने गरेको प्रमुख कँडेलले बताउनुभयो  । जिल्लाका अधिकांश क्षेत्रमा तराईमूलका कामदारहरुले धान रोप्ने गरेको जनाउँदै उनले युवाशक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको बताउनुभयो ।

पछिल्ला दिनहरूमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ । मेसिनबाट रोप्न बीउ राख्ने समयमा नै सोहीअनुसार राख्नुपर्ने हुन्छ । जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार ८७० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरिँदै आइएको छ ।

उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ । नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ सुरु भएको उनले जानकारी दिए । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ ।

प्रतिक्रिया