पूर्वी क्षेत्रमा मनसुन सक्रिय, सचेत रहन आग्रह

पूर्वी क्षेत्रमा मनसुन सक्रिय, सचेत रहन आग्रह

काठमाडौँ – कोशी प्रदेश लगायत देशका पूर्वी भागमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । पूर्वी नेपालका भूभागमा मनसुनको न्यून चापीय रेखा सरदर र सरदर स्थानभन्दा माथि रहेकाले कोशी, मधेश, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ ।

पश्चिम नेपालमा भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परे पनि अहिले धेरै ठाँउमा घाम लागेको छ । दिउँसो फेरि केही ठाउँमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

अहिले विशेषगरी धनुषा, सर्लाही,  झापा, मोरङ, सुनसरी , सिन्धुली र मकवानपुरमा ठूलो पानी परेको छ । यस क्षेत्र भई बग्ने स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले नदी तटीय क्रियाकलापमा उच्च सावधानी अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार सिन्धुलीको कमला नदीमा जलसतह सतर्कता तह पार गरी खतरा तह आसपास र बढ्दो क्रममा रहेको छ । यस्तै धनुषा र सिराहाको तटीय क्षेत्र लगायत डुबान भइरहने होचा ठाउँमा हुनेले बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रतिक्रिया