स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन : प्रवक्ता महत

स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन : प्रवक्ता महत

काठमाडौँ  -  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आज यहाँ आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उहाँले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको भएको बताउनुभएको हो । पूर्वअर्थमन्त्री डा महतले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 
      
उहाँले राजनीतिक दलमा आवद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने जिकिर गर्नुभयो । “हरेक कुरामा राम्रो सम्भावना भएको नेपालजस्तो देश संसारमा अर्को भेट्टाउन सकिँदैन । त्यसैले सबैजना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिन्छ”, उहाँले भन्नुभयो,“विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ । निराशा र देखासिकीले देश बन्दैन ।”

प्रतिक्रिया