कर्णालीमा कृषिमा लगानी बढे पनि घट्यो उत्पादन

कर्णालीमा कृषिमा लगानी बढे पनि घट्यो उत्पादन

सुर्खेत – कर्णाली प्रदेशमा किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि उत्पादन भने घटेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार कृषि क्षेत्रमा सरकारी लगानी बढेको तर उत्पादन घट्दै गएको पाइएको हो । कर्णालीको समग्र कृषि बाली उत्पादन अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्ष ३ दशमलव ५३ प्रतिशतले घटेको पाइएको छ ।

समीक्षा अवधिमा धान बालीको उत्पादन १२ दशमलव ०४ प्रतिशत र गहुँ उत्पादन ० दशमलव ४३ प्रतिशतले बढेको पाइएको छ । तर मकैबाली ७ दशमव ६१ प्रतिशत, कोदो १६ दशमलव ७३ प्रतिशत, जौ १८ दशमलव ९८ प्रतिशत र फापर २५ दशमलव ६९ प्रतिशतले घटेको पाइएको छ । यस्तै दलहनको उत्पादन ७ दशमलव ५६ प्रतिशतले घटेको छ । तेलहन भने ४६ दशमलव १९ प्रतिशतले बढेको छ ।

यस्तै कर्णाली प्रदेशमा तरकारी तथा बागबानी उत्पादन ५ दशलमव २९ प्रतिशत र फलफूल तथा मसला उत्पादनमा ४ दशमलव ३३ प्रतिशतले घटेको छ ।

पालिका सरकारले तरकारी र बागबानी उत्पादनमा लगानी वृद्धि गरे पनि उत्पादनमा प्रभावकारी नीति कार्यान्वयन नभएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । कर्णालीमा सिँचाइ सुविधा पुगेको क्षेत्र भने अघिल्लो वर्षको तुलनामा १ दशलव ५९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया