सामुदायिक वनमा ७२ हजार बढी विरुवा विक्षारोपण

सामुदायिक वनमा ७२ हजार बढी विरुवा विक्षारोपण

रुकुम पश्चिम -    रुकुम पश्चिममा यस वर्ष जिल्लाभर ७२ हजार ४ सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लाभरका सामुदायिक वनमा विभिन्न प्रजातिका ७२ हजार ४ सय १८ बिरुवा रोपिएको हो ।

 डिभिजन वन कार्यालय रुकुम पश्चिम मार्फत सामुदायिक वन उपभोक्ताको समन्वयमा सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । हालसम्म रोपिएका ७२ हजार ४ सय १८ बिरुवा मध्ये  ४७ हजार २ सय ५० वटा बिरुवा अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको र बाँकी २५ हजार १ सय १८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैले वृक्षारोपण गरेको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभर ४३ हजार ५ सय ५० वटा टिमुरका बिरुवा रोपिएको छ । त्यस्तै अलैँचीका ९ हजार ६ सय, देवदारका ३ हजार ३ सय, चिउरीका २ हजार २ सय, तेज पातका बिरुवा २ हजार ३ सय, कुरिलोका बिरुवा १ हजार वटा रोपिएको निमित्त प्रमुख परियारले जानकारी दिनुभयो । 

त्यस्तै अम्रिसोको १ हजार ६ सय, टुनी २ हजार १ सय, खोटे सल्ला १ हजार ८ सय, धुपी सल्लो २ हजार २ सय, राईखन्यू १ हजार २ सय, कल्की फुल  ९ सय, मयुर पङ्खी २ सय, कपुर ३ सय, पारिजात १ सय र गोल्मोरका ५३ वटा बिरुवा गरेर जिल्लाभर ७२ हजार ४ सय १८ वटा बिरुवा रोपिएको हो ।

सामुदायिक वनलाई हराभरा बनाउने र सामुदायिक वनबाटै आर्थिक अवस्था बलियो बनाउने उद्देश्यले वृक्षारोपणलाई जोड दिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख परियाले जानकारी दिनुभयो । बिरुवा तथा अन्य सामग्री खरिद गर्दा २० लाख रुपैयाँ खर्च  भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  

प्रतिक्रिया