कृषि उत्पादन वितरणलाई सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन

कृषि उत्पादन वितरणलाई सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन


सल्यान  -   कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषिउपज बजार सञ्चालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका प्रमुख भीम पाण्डेले बताउनुभयो  । उहाँका अनुसार कार्यालयको ढुवानी साधनमा अनुदान कार्यक्रमअन्तर्गत १४ लाख तीन हजार सात सय ५० र समितिको १४ लाख तीन हजार सात सय ५० गरी २८ लाख ७५ हजारमा खरिद गरी कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो । 

कृषकको आय–आर्जनमा वृद्धि गर्न कृषि क्षेत्रलाई व्यवस्थित गर्ने गरी गाउँमा विभिन्न कृषि कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो  । कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको सहज निकासीका लागि पालिकाले पनि दुईवटा साना गाडी खरिद गरेको र ती साना गाडीलाई पनि कृषि एम्बुलेन्सका रूपमा प्रयोग गरिने उनको भनाइ छ । 

कृषिउपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले बजार सञ्चालक समिति र कपुरकोट गाउँपालिकाले कार्यविधि बनाएर यसलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो  । 

उत्पादित वस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकअप भ्यान खरिद गरिसकेको बताउनुभयो  । यसले किसानको पहुँच विस्तार भए बारीबाट तरकारी ढुवानी गरी हाटबजार स्थलसम्म पुर्‍याउने र नेपालका ठूला सहरमा समेत तरकारी ढुवानी गरिने बताउनुभयो  । 

बेमौसमी तरकारी उत्पादनले प्रख्यात मानिने कपुरकोटबाट वार्षिक २८ करोडभन्दा बढीको तरकारी निर्यात हुने गरेको छ । यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत तरकारी खेती नै हो ।

प्रतिक्रिया