स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड

स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड

काठमाडौँ -   जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन गर्दे सांसदहरुले नेपालमा उत्पादित जडीबुटीको प्रभावकारी रुपमा बजारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सांसदहरुले लिमिटेडको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । छलफलका क्रममा सांसद मदनकुमारी शाहले लिमिटेडका उत्पादन बजारीकरणको तहमा कमजोर रहेको भन्दै यसमा जोड दिन आग्रह गर्नुभयो । उहाँलगायत अरु सांसदहरुले पनि नेपालमा उत्पादित जडीबुटीका उत्पादन प्रयोग गरौँ भन्ने खालका सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद पदमबहादुर परियारले भन्नुभयो, “उत्पादित वस्तुलाई बिक्री गर्न पनि प्रक्रियागत झण्झटका कारण समस्या रहेछ । व्यापार गर्ने संस्थाको कार्यविधि नै पो परिवर्तन गर्नुपर्ने हो की यसमा सोच्नुपर्छ ।” नेपाल जडीबुटीको क्षेत्रमा ठूलो सम्भावना बोकेको र आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याउन  सक्ने भएकाले यसको खोज, अनुसन्धान, उत्पादनमा प्राथमिकता दिनुपर्ने सांसदहरुको भनाइ थियो ।

समितिका सभापति मायाप्रसाद शर्माले लिमिटेडका पदाधिकारीलाई यसका समस्या लिपिबद्ध गरेर समितिलाई पठाउन र अगामी दिनमा थप छलफल गरी सरोकारवालालाई झक्झक्याउन काम गरिने आश्वस्त पार्नुभयो । लिमिटेडकी महाप्रबन्धक सङ्गीता यादवले आगामी दिनमा ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले बजारको अध्ययन गर्दै आफ्ना उत्पादन बढाउँदै लगेका छौँ । यो वर्षदेखि शुद्ध मह पनि ल्याउने तयारीमा छौँ । हाते प्रविधिबाट सञ्चालित सञ्चो उत्पादन हाल स्वाचालित अत्याधुनिक मेसिनबाट उत्पादन हुँदै आएको छ  । जसले गर्दा उत्पादन क्षमतामा पनि वृद्धि भएको छ ।”

उहाँले बजारको मागअनुसार आपूर्ति गर्ने र विदेशमा निकासी गर्न कम्पनीको पूँजी, प्रविधि र जनशक्तिलाई पनि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष डा सिन्धुप्रसाद ढुङ्गानाले बजारीकरणका सम्बन्धमा समस्या देखिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिस्पर्धाको जमाना छ । कतिपय सामानका बजारभाउ अनुसार बेच्न नसकिएको अवस्था छ । प्रक्रियागत हिसाबले भाउ तोक्दा अर्को पटक भाउ फेरिसकेको हुन्छ । जसले गर्दा बिक्रीमा असर पुग्छ ।”

वि.सं. २०३८ मा स्थापना भएको लिमिटेड सरकारी स्वामित्व भएको संस्था हो । लिमिटेडले नेपालमै पाइने जडीबुटीको कच्चापदार्थबाट सञ्चो, सञ्चो बाम, दुखाइ कम गर्ने तेल, ह्यान्ड सेनिटाइजर, शिलाजित तथा विभिन्न औषधि तथा सुगन्धित तेल उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया