३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ  -   राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । 

 राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । 

राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिनुभयो ।

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना प्रदान गर्नुभयो । 

खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।

प्रतिक्रिया