न्यूरोड फुटपाथ विस्तारको काममा स्थानीयबासीले गरे पुन: अवरोध

न्यूरोड फुटपाथ विस्तारको काममा स्थानीयबासीले गरे पुन: अवरोध

काठमाडौं– उच्च अदालतको आदेशपछि सुरु भएको काठमाडौंको न्यूरोडस्थित फुटपाथ विस्तारको कामलाई स्थानीयबासीले अवरोध गरिदिएका छन् ।

महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेका बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका हुन् । स्थानीयबासीसँगै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन पनि विरोधमा उत्रिएका छन् । उनी र महानगरका मेयर बालेन्द्र साहबीच केही महिनादेखि सार्वजनिक रुपमै द्वन्द्वको अवस्था देखिएको छ ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो । सुरुमा फुटपाथ विस्तारको कामलाई डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध गरिदिएको थियो । आफ्नो क्षेत्राधिकारको सडक महानगरले जथाभावी भत्काएको आरोप सडक विभागको थियो । तर, न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार अघि बढिरहेका बेला अब महानगरसँग स्थानीयबासी पनि द्वन्द्वमा उत्रिएका हुन् ।

फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि नेपाल प्रहारी र नगर प्रहारीलगायत तैनाथ थिए । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तैनाथ भए पनि स्थानीयले काममा अवरोध गरेका हुन् ।

यससँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारले स्थानीयबासीसँग पनि द्वन्द्वको अवस्था ल्याएको छ ।

प्रतिक्रिया