युवकको व्यवहारले दुर्घटनाकाे त्रास
दैलेख – सुर्खेतदेखि दैलेख सडकको ६५ किलोमीटर दूरीको ठिक्क आधा दूरीमा पर्दछ, घोडाबास । सुर्खेतदेखि दैलेख, कालिकोट, जुम्लाका लागि गुडिरहेका यातायात साधनहरु ओरालोमा हुन्छन् अनि सुर्खेतका लागि प्रस्थान गरिरहेका यातायातका साधनहरु चाहिँ उकालोमा गुडिरहेका हुन्छन् ।
सबैसबै यातायातका साधनहरुको हतारो, कालोपत्रे भएको सडक यातायात साधनहरुको गति लिएकै हुन्छन्, १२–१५ वटा होटल, पसलहरु भएको उकालो–ओरालो पर्ने यही ठाउँनिर पुग्दा दुबै तिरबाट मोडहरु पार गरी आएका यातायातका साधनहरु ठोक्किएलान् जस्तो गरी क्रस हुने गर्छन् ।
उकालो उक्लिरहेका र ओरालो झर्दै गरेका यातायातका साधनहरु ठोक्किएलान् जसरी क्रस गरिरहने यही घोडाबासमा २० वर्षे युवा धनबहादुर गुरुङ्ग सधैंजसो सडकको बीचमा कहिल्यै लर्खरिएर हिड्ने अनि कहिल्यै घिर्सिने गरेको कारण दुर्घटनाको त्रास निम्त्याएको छ ।
बोल्न नसक्ने, हिंड्दा समेत रामरी हिड्न नसक्ने यी युवकको यो व्यवहारले दुर्घटनाकाे त्रासदी बढेको स्थानीय भीमबहादुर बीसीले सुनाउनुभयो । बहु अपाङ्गता भएका यी युवक पारिवारिक संरक्षणको अभावमा यो परिस्थिति आएको हो । आफूहरुले सम्झाउन नसकेको बीसीले बताउनुभयो ।
उकाली–ओराली संयोग जुट्ने यही घोडाबास मै प्रहरी पोष्ट छ । धनबहादुरले सडकमा सधैंजसो लर्खरिएर हिड्ने अनि घिर्सिदिने व्यवहारले यसलाई नियन्त्रण गर्नमा यात्रुहरुबाट सुझाव आउने गरेको तर नियन्त्रणमा समस्या रहेको प्रहरी पोष्टका इञ्चार्ज प्रहरी हवल्दार इश्वर बिकले समस्या दर्शाउनुभयो ।
बाटोमा पटकपटक अवरोध सिर्जना गर्ने यी युवकका बुबा इन्द्रबहादुर गुरुङ्ग पाँच वर्ष अघि ४१ वर्षको उमेरमा भारतको कुल्लूमा हराएका थिए । पत्नी निरमाया गुरुङ्गसंगै मजदूरी गर्न गएको बेला २०७६ को साउनमा उनी हराएका थिए । तीन महिना खोजेर फेला पार्न नसकेपछि निरमाया फर्किएकी थिइन् ।
मजदूरी गर्न भारत गएको बेला पति बेपत्ता भएपछि घर फर्र्र्किएकी निरमाया गाउमै मजदूरी गर्न व्यस्त हुने गर्छिन् । बहुअपाङ्गता समस्या भएका धनबहादुरकी आमा मजदूरीबाटै छाकटार्न धौधौ छ । धनबहादुरकी एउटी बहिनी रिता गुरुङ्ग एसईई परीक्षाको ग्रेड बृद्धि परीक्षाको तयारीमा छिन् ।
घरमा नरोकिने, परिवारजनको नियन्त्रणमा नबस्ने यी युवकको सडकमा लर्खरिएर हिड्ने अनि घिर्सिदिने व्यवहार स्थानीय जनप्रतिनिधिको लागि समेत हैरानीको विषय भएको छ । यो समस्या समाधानका लागि आश्रय स्थलमा युवकलाई पठाउन खोज्दा पनि कसैले लिन नमानेको गुराँस गाउँपालिका–४ का वडाध्यक्ष खड्कबहादुर चन्दले दुखेसो पोख्नुभयो ।
प्रतिक्रिया