जातीय विभेदको आरोपमा शिक्षक पक्राउ

नेपाल राष्ट्रिय मावि गिताचौरका मावि शिक्षक तर्कबहादुर सिंह ठकुरी जातीय भेदभाव तथा छुवाछूत कसूरमा पक्राउ

जातीय विभेदको आरोपमा शिक्षक पक्राउ

दैलेख – जान्ने, सुन्ने र शिक्षित व्यक्तिहरु सबै असल वा राम्रो काम मात्र गर्छन् भन्ने छैन । कतिपय अवस्थामा साधारण व्यक्ति भन्दा बढ्ता शिक्षितले जातीय विभेद गरेका छन् भन्ने बेलाबेला उदाहरण फेला पर्ने गरेका छन् । कानून मिच्ने यस्तै काम गरेका दैलेखमा एक जना मावि तहका शिक्षक पक्राउ परेका छन् । 

दैलेखको महाबु गाउँपालिका–४ फागु भन्ने गाउँका बासिन्दा एवम् नेपाल राष्ट्रिय मावि गिताचौरका अंग्रेजी पढाउने मावि तहका शिक्षक ४२ वर्षीय तर्कबहादुर सिंह ठकुरी आज शुक्रबार जातीय भेदभाव तथा छुवाछूत कसूर सम्बन्धी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको मुद्दाकाे सन्दर्भमा पक्राउ परेका हुन् । 

पक्राउ पर्नु सामान्य प्रक्रिया हो तर ती शिक्षकको सरकारवादी फौजदारी कसूरको कारण एमएडको परीक्षा समेत छुटेको छ । द्रोणाचल शिक्षा क्याम्पसमा चलिरहेको त्रिभुवन विद्यालयको एमएडको पहिलो सेमेष्टरको नियमित परीक्षा छुटेको छ । इपीएमको पाँच विषय मध्ये साउन ११, १५ र १७ गतेको गरी तीन वटा विषय परीक्षा छुटेका हुन् । 

कर्णाली प्रदेश प्रमुख तिलक परियारले निजी सचिवालयमा दलितहरु मात्र राखेको विषयमा प्रकाशित समाचारका सन्दर्भमा ‘डुमैडुम मात्र रहेछन्’ भनी सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा गम्भीर भुलले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएको जाहेरीका आधारमा प्रहरीले शिक्षक सिंहलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयमा साउन ८ गते दर्ता भएको ‘जातीय भेदभाव तथा छुवाछूत कसूर’ मुद्दाको सन्दर्भमा सुर्खेत जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी अनुसार जातीय विभेदको आरोपमा ती शिक्षकलाई दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने परीक्षामा सहभागी हुन जानै लागेको बेला दुल्लूबजारको कर्णाली होटलबाट पक्राउ गरिएको थियो । 

सुर्खेत जिल्ला अदालतबाट पक्राउ पूर्जी अनुसार जिल्ला प्रहरी कार्यालय दैलेखसंगको समन्ववयमा आरोपित शिक्षक तर्कबहादुर सिंह ठकुरी शुक्रबार दिउँसो १२ः४५ मा पक्राउ परेका थिए । प्रहरीले आरोपितलाई शुक्रबार नै सुर्खेत पु¥याई त्यहाँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । 

पक्राउ परेका सिंहलाई आइतबार मात्र सुर्खेत जिल्ला अदालतमा म्याद थपका लागि पु¥याइने सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) बीरेन्द्रबीर बिश्वकर्माले बताउनुभयो । कसूर ठहर भएमा जातीय भेदभाव तथा छुवाछूत गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र दुई लाख रुपैंयाँसम्मको जरिवाना हुने कानूनी व्यवस्था छ । 

शिक्षक पक्राउ घटनाले समाजमा जातीय विभेद गम्भीर सामाजिक अपराध हो भन्ने चेतना बढाउने काम गरेको अधिकारकर्मी मिलन बिश्वकर्माको तर्क छ । ‘दैलेखमा जातीय विभेद अलि बढी नै छ, विभेद भएका हरेक घटनामा कानूनी उपचार खोजिने छ’ बिश्वकर्माले भन्नुभयो । 

प्रदेश प्रमुख तिलक परियारले निजी सचिवालयमा आफन्तहरु मात्र भर्ती गरेको कामबारे सबैतिर आलोचना भइरहेको छ । यसलाई सभ्य तरिकाले विरोध गर्न सकिन्थ्यो, समुदायलाई हेपेको कारण शिक्षकले जातीय विभेदको मुद्दा खेप्नु परेको बुद्धिजीबीहरुले टिप्पणी गरेका छन् । 

शिक्षक सिंहले अरु कसैको फेसबुक स्टाटसमा घृणित शब्दमा प्रतिक्रिया लेखेकै कारण जातीय विभेद मुद्दा खेप्नु परेको हो । उच्च पदस्त अधिकारीहरुले सबैजसोले निजी सचिवालयमा आफन्तहरु नै राखेका छन् दलितले दलितलाई राखेको विषयमा आलोचनाप्रति आक्रोसित भएका दलित अधिकारकर्मीहरुले शिक्षक सिंहलाई कानूनी कारवाही चलाउनुपर्ने आवाज उठाएका थिए । 


 

प्रतिक्रिया