दिगो कृषि उत्पादनका लागि दुल्लुमा कृषि पाठशाला

कृषि पाठशाला संचालनले जलवायुमैत्री कृषिमा हौँसिदै कृषक

दिगो कृषि उत्पादनका लागि दुल्लुमा कृषि पाठशाला

 

काठमाडौँ -  दैलेखको दुल्लु नगरपालिका -१ का पुर्ण बहादुर खड्काको मुख्य आयस्रोत कृषि हो । मेहनत गरेअनुसारको उत्पादन ननभएर निराश भएका खड्काले जलवायुमैत्री तरकारी खेती थालेपछि मख्ख हुनुहुन्छ । पहिले पुरानै प्रविधिबाट तरकारी लगाउने उहाँ अहिले गाउँमै कृषि पाठशाला सञ्चालन भएपछि मौमसी बेमौमसी, तथा जलवायु अनूकुल खेती बारे थाहा पाउँदा कृषिमा आर्कषण बढेको उहाँ बताउँनुहुन्छ   ।

 पहिले उहाँलाई कृषि सम्बन्धि राम्रो ज्ञान थिएन जस्ले गर्दा पुरानै प्रविधिबाट खेतीपाती गर्दै आउनुभएका उहाँ अहिले परिर्वतन हुनुभएको छ  । दुल्लु नगरपालिकामा कृषकहरुका लागि संचालन भएको ६ महिने कृषिक पाठशालामा सहभागि  हुँदै आउनुभएको छ  । 

समयानुकूल खेतपाती गर्न नजान्दा सोचेजस्तो उत्पादन नहुँदो रहेछ',उहाँले भन्नुभयो, 'सिप ज्ञानको अभावले हाम्रो श्रम खेर गयो पछिल्लो समय समयमै पानी नपर्ने समस्याले उत्पादन घट्दै छ । यो सबै जलवायुमैत्री परिवर्तनको असर रहेछ । पाठशालामा सहभागि भएपछि यस्तो अबस्थामा मलजल,गोडमेल,रोग किरा नियन्त्रण जस्ता कुरामा ध्यान दिँदा उत्पादन पनि बढ्ने अनुभूती भयो ।’

उहाँ जस्तै दुल्लु नगरपालिका  -१ कि खजुरा खड्का पनि परम्परागत रुपमै खेती गर्दै आउनुभएको थियो । तर, अहिले उहाँ बद्लिनुभएको छ । परम्परागत रुपमा खेतीपाती गर्दा उत्पादनमा ह्रास आएको उहाँ बताउँनुहुन्छ । दुल्लूमा भएको कृषि पाठशालामा सहभागि भएपछि अहिले उहाँ छर्लङ्ग भएको बताउँनुहुन्छ  । पहिले परम्परगत रुपमा तरकारी खेती लगायत अन्य खेती लगाउँदै आएकी थिएँ',उहाँले भन्नुभयो,  'जति मेहनत गर्दा पनि उत्पादन बढ्दैन थियो । उल्टै घट्दो अवस्थामा हुन्थ्यो । त्यसरी उत्पादन किन घट्ने रहेछ भनेर कृषक पाठशालामा सहभागि भएपछि बुझेँ ।’

कृषि  पाठशालामा सहभागि खजुराले करिब एक रोपनी जग्गामा जलवायु अनुकुलनका उपाए अपनाउँदै तरकारी लगाउनुभएको छ । तरकारीमा उहाँले बन्दा टमाटर, गोभि, काउलि  खुर्सानी ,सिमि काक्रा भन्टा लगायतका तरकारी बाली लगाएको उहाँ बताउँनुहुन्छ । 

कृषकहरुलाई व्यवसायिक कृषक बनाउनका लागि दुल्लु नगरपालिका  -१ देउतीचौरमा जनचेतना कृषि समूहका कृषकहरुका लागि ६ महिने पाठशाला संचालन गरिएको छ । उक्त पाठशालामा २४ जना कृषकहरु रहनुभएको छ ।

डिसीय नेपालको साझेदारीमा सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना अन्र्तगत जलवायु मैत्री कृषक पाठशाला संचालन गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीले बताउनुभयो  । 

पाठशालाबाट कृषकहरूले प्राङगारिक कृषि उपज उत्पादन गर्ने र रासायनिक विषादीको प्रयोग घटाउने विधि आत्मसात् गर्नेछन् ।

पाठशालामा माटोको संरक्षण,मल जल,गोडमेल,रोक किरा नियन्त्रणमा जैविक विधिको प्रयोग, बिउबाली छनोट, जैविक मलको प्रयोग र माटोको उर्बरा शक्ति वृृद्धि, रैथाने बाली संरक्षण लगायतमा विषयमा किसानबीच नियमित छलफल हुने गरेको पाठशालाको सहजकर्ता भगवती थापा बताउँनुहुन्छ  । 

उहाँका अनुसार कृषकहरुलाई कृषक पाठशालामार्फत प्रयोगात्मक अभ्यास गर्दै नयाँ विधि, प्रविधिबारे जानकारी दिन कृषि पाठशाला संचालन भएको सहजकर्ता थापाको भनाई छ । 

कृषि पाठशालामा व्यवसायिक तरकारी खेतीतर्फ कृषकलाई आकर्षित गर्न र जलवायुमैत्री कृषि गर्न कृषकलाई आकर्षित गर्न पाठशाला सञ्चालन भएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीको भनाई छ ।

व्यवसायिक तरकारी खेतीमा आकर्षण बढाउन  समूह निर्माण गरी कृषक पाठशाला सञ्चालन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘पाठशालामा  विभिन्न नगदे बालि, मौसमी पात्रो,नर्सरी बनाउन, झोलमल बनाउने तरिका लगायतका व्यवसायिक तरकारी खेतीबारे जानकारी दिन ‘कृषि पाठशाला’ सञ्चालन गरिएको हो ।’

कृषि पाठशालामा सहभागि भएपछि व्यवसायिक रुपमा खेतीपाती गर्ने आधुनिक विधिबारे जानकारी  पाएको कमला खड्का बताउँनुहुन्छ   । पहिले परम्परागत रूपमा खानका लागि मात्र तरकारी रोपिन्थ्यो । रोपेर छाड्थ्यौँ,’ उहाँ भन्नुहुन्छ, ‘मलजल मिलाएर नहाल्दा थोरै फल्थ्यो  । कृषि पाठशालामा बसे देखि बारीमा आफूले लगाएको तरकारी किन फलेन भनेर हेर्ने, गोडमेल गर्ने, मलजल गर्ने, आवश्यकताअनुसार जैविक विषादी छर्किन्छौँ  ।’

दुल्लु नगरपालिका –२ कि लालमना खड्काले कृषि पाठशालामा सहभागि भएपश्चात् धेरै कुराहरुको ज्ञान भएको बताउनुभयो  । पाठशालाले मौसमी, बेमौसमी तरकारी खेती गर्ने लगायत ज्ञान दिएको छ,’ उहाँले भन्नुभयो, 'पहिले यस्तो ज्ञान थिएन तरकारीमा रोग किरा लागे पनि तरकारी खेतीमा हेर्दै कस्ता साल समय आए भन्दै आफुले तरकारी लगाएर दुःख गरेकोमा पछुतो हुन्थ्यो । तर,अहिले पाठशालामा सहभागि भएपछि छर्लङगै भएँ ।’

तितेपाती, असुरो, खरानी, गाइभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छौँ,” उहाँले भन्नुभयो, ‘रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ ।”

“खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभाबी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ ।”,

कृषि पाठशालामा २४ जना कृषकहरु सहभागि रहेका छन् । सहभागि कृषकहरुले जैविक मल बनाउने तरिका, विरुवा काँटछाँट गर्ने,  बिउ राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, किरा लाग्दा कसरी जैविक उपचार गर्नेजस्ता तरिकाबारे पाठशालामा सिकाइने गरेकोसहजकर्ता भगवती थापा बताउँनुहुन्छ । थोरै लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने गरी किसानलाई खेती गर्ने तरिका सिकाउँदै छौं सहजकर्ता थापाले भन्नुभयो,  ‘यसले उत्पादन बढाउँछ, जस्ले कृषकहरु आत्मनिर्भर बन्ने विश्वास छ  ।’ 

परम्परागत विधिबाट खेतीपाती गर्दा उब्जनी थोरै भएपछि उहाँहरूलाई पाठशालामा प्रयोगात्मक अभ्यासमार्फत नयाँ विधि सिकाउने गरिएको  थापाको भनाई छ  । ‘जुन बाली हो त्यसबारे बुझाउने र खेती गर्ने तरिकाको अभ्यास गराउँछौँ,’ उहाँले भन्नुभयो, ‘बाली विशेषलाई लिएर सातामा एक दिन खेती गर्ने तरिका, कीटजन्य समस्या, उपचार, मल तथा औषधि छर्किने तरिका सिकाउँछौँ  ।’

 स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको थापाको भनाई रहेको छ । 

प्रतिक्रिया