अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्ने उदेश्यले मनाउने गरिन्छ ।

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२४ को नारा ‘बालबालिकालाई मानव बेचबिखनविरुद्ध हुने लडाईको चपेटामा नपारौ ’ भन्ने तय गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, यौन शोषण, गैरकानुनी आप्रवासनलगायतका काममा भइरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घकाअनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।

यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवम् सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न देशमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । 

प्रतिक्रिया