नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ : पर्यटनमन्त्री पाण्डे

नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ :  पर्यटनमन्त्री पाण्डे

काठमाडौँ  -  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिनुभयो । 

नेपालमा पर्यटनको अथाहा सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटनका लागि प्रकृतिले दिएको अद्धितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताउनुभयो ।
    
 मन्त्री पाण्डेलाई पर्यटन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष डा गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष कमल सापकोटा, निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, बोर्ड सञ्चालक समिति सदस्यलगायतलले स्वागत गर्नुभएको थियो ।

बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डको गतिविधिबारे जानकारी गराउदै कतिपय नीतिगत समस्याका कारण बोर्डले विदेशका आयोजना गरिने कार्यक्रम गर्न नसकेको बताउनुभयो । उहाँले नीतिगत तथा प्रक्रियागत सहजीकरण हुनासाथ विदेशमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने भन्दै त्यसका लागि सहजीकरण गरिदिन मन्त्री पाण्डे समक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया