‘घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ’: उपप्रधानमन्त्री

‘घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ’: उपप्रधानमन्त्री

काठमाडौँ  -   उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी तथा स्वरोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धनमा सरकारले ध्यान दिने बताउनुभएको छ ।  
 
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग आज अर्थमन्त्रालयमा भएको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति, नियम, कानुन, निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट गर्नुभयो ।  
 
“घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, पालिका तहसम्म यसको विस्तार हुनु हो । रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई अझै विस्तार गर्न सरकार र नीति क्षेत्रबीच सहकार्य हुन आवश्यक छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यका साथ काम गरिरहेको छ ।”
 
सरकारले सबै खालका उद्योग–व्यवसाय, रोजगारी, उत्पादन, उत्पादकत्वलगायत क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सूक्ष्म रूपमा अध्ययन गरिहेको उल्लेख गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी–व्यवसायीबाट प्राप्त रायसुझावलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   
 
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योग तथा तिनका लगानीकर्ता अहिले प्रताडित अवस्थामा रहेको उल्लेख गर्दै २०७२ सालको विनाशकारी ‘गोर्खा भूकम्प’ र त्यसपछिको कोरोना महामारीका कारण अधिकांश साना तथा घरेलु उद्योगको अवस्था दयानीय रहेकाले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रतिक्रिया