बेरोजगार भएपछि हुम्लाका युवायुवती काम गर्न छिमेकी चीनको ताक्लाकोटमा

युवायुवतीले दैनिक कमाउँछन् रु पाँच हजारसम्म

बेरोजगार भएपछि हुम्लाका युवायुवती काम गर्न छिमेकी चीनको ताक्लाकोटमा चीनको ताक्लाकोटमा काम गर्दै हुम्लाका बेरोजगार युवायुवतीहरु। तस्बिर : सौजन्य सन्दिप भण्डारी, ताक्लाकोट

हुम्ला  -   जिल्लामा बेरोजगारी समस्या भएपछि छिमेकी चीनको ताक्लाकोटमा काम गर्न गएका युवायुवतीले दैनिक रु पाँच हजारसम्म कमाउने गरेका छन् । छ महिनाका लागि हुम्लाका बेरोजगारहरूले रोजगारीसमेत पाउने भएकाले जिल्लाका युवा÷युवती ताक्लाकोट गएर काम गर्न आकर्षित हुँदै आएका छन् ।

हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा कामका लागि गएका सिमकोट गाउँपालिका–२ का सन्दीप भण्डारीले जिल्लाका युवायुवतीको दैनिक कमाई रु पाँचदेखि छ हजारसम्म हुने गरेको बताउनुभयो । यो पारिश्रमक पाउने दक्ष कामदार रहेको उहाँले बताउनुभयो । विकास निर्माण गर्ने कामदारले यो पारिश्रमिक पाउने गर्छन् ।

उहाँले बिहान ८ देखि बेलुका ६ बजेसम्म काम गरेपछि सो पारिश्रमिक पाउने गरेको जानकारी दिँदै गत वर्षभन्दा यस वर्ष हुम्लाका युवायुवतीको आम्दानी राम्रो भएको जानकारी दिनुभयो ।

त्यसैगरी, घरायसी काम गर्ने कामदारले बिहान–बेलुकाको खाना खाएर नेपाली रु तीन हजार आठ सय पाउने गरेको अर्का कामदार जनक बुढाले बताउनुभयो । यो काम गर्ने नेपाली कामदारको सङ्ख्या ठूलो रहेको उहाँको भनाइ छ ।

त्यसैगरी, होटल तथा रेष्टुरेन्टमा काम गर्ने कामदारले दैनिक रु चार हजार सात सय ५० पारिश्रमिक पाउने गरेको जुम्कित लामाले बताउनुभयो । यसमा काम गर्नेमा लामा समुदायका युवायुवती छन् ।

खेतीपातीको काम गर्ने कामदारले भने दैनिक खाना खाएर रु दुई हजार आठ सय ५० पाउने गरेको कामदार जनक रोकायाले बताउनुभयो । उहाँले हुम्लाबाट एक हजार पाँच सय युवायुवती रोजगारीका लागि चीनको ताक्लाकोटमा आएर काम गरिरहेको बताउनुभयो । यो काम अब आगामी कात्तिक महिनासम्म उहाँहरुले गरेर जिल्ला फर्कने बताइएको छ । 

प्रतिक्रिया