संरक्षणको पखाईमा सम्पदा र संस्कृति

जातजातिको उद्गमस्थलका लागि उदासिन सरकार

संरक्षणको पखाईमा सम्पदा र संस्कृति संरक्षणको पखाईमा सम्पदा विश्व सम्पदाको सुचीमा परेको दैलेख सदरमुकाम नजिकै भुर्तिका २५ देवत । जुन संरक्षण र प्रवद्र्धनको लागी दिनप्रतिदिन ओझेलमा पर्दै गएको छ । तस्वीर -भक्तबहादुर शाही/दैलेख

  दैलेख   - पर्यटकीय सम्भावना बोकेका यहाँका ऐतिहासिक, पुरातात्विक तीर्थस्थल पञ्चकोशी क्षेत्र संरक्षणको पखाईमा छन् । धार्मिक,तथा प्राकृतिक पर्यटकीय सम्भावनाका प्रयाप्त ठाँउ मानिने पादुका,शिरस्थान,नाभिस्थान,कोटिला, धुलेश्वर, कोतगढी,धौलापडा गुफा,भिमपाइला,जलगुफा, मैदानताल, पञ्चदेवल,नेपाली भाषाको पहिलो शिलालेख, लगायतका थु्रपै धार्मिकस्थलको संरक्षणको बारे स्थानीय सरकारले चासो नदिँदा दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । 
           दुल्लुमा अवस्थित १ हजार ३८ बर्ष पुरानो साउँपाल अढाईको शाक्यद्धारा निर्माण गरिएको नेपाली भाषाको पहिलो शिलालेख,जिल्लाका विभिन्न स्थानमा रहेका देवल,विभिन्न कालखण्डमा निर्माण गरेका ऐतिहासिक कोतगढी,पानीमाथि सदियौदेखी निरन्तर प्रज्वलित ज्वाला ,पुरातात्विक ढुंगेधारा,पौवा संरक्षण हुन नसक्दा जीर्ण वन्दै गएको जिल्लाबासीको भनाई छन् । स्थानीय सरकारले संरक्षण गर्न समेत पहल नगर्दा सम्पदा केही बर्ष भित्र सकिने छन् । 

सम्पदा जिल्लाकै सम्पत्ति भएकोले संरक्षणमा स्थानीय सरकार र स्थानीयबासी लाग्नुपर्ने बुद्धिजिवीको भनाई छ । दैलेखको नारायण नगरपालिका –३ भुर्तिमा रहेको २५ देवल संरक्षणको लागि पर्खाल लगाएपनि देवल शौच गर्ने थलो बनेको छ । बजेट आएपछि उपभोक्ता समितिमा हानथाप गर्ने स्थानीयबासी सरसरफाईमा चासो नदिँदा देवल शौच गर्ने थलो बनेको हो । देवल भित्र दिशा पिसाब गरेको यत्रतत्र छन् । देवलको बारे जानकारी पाएका आन्तरिक तथा बाह्य पर्यटकहरु त्यहाँ पुग्दा नाक थुनेर देवलको  अवलोकन गर्नुपर्ने बाध्यता छ ।  स्थानीयबासीले सम्पदाको बारे ज्ञान नदिँदा यो समस्या आएकोले स्थानीय सरकारले देवलको महत्व बुझाई सरसफाईमा चासो दिनुपर्ने स्थानीयबासीको भनाई छ । 

सम्पदा संरक्षणको लागि स्थानीय सरकार नै चासो दिनुपर्ने नारायण नगरपालिका युवा नेता भुपेन्द्रबहादुर शाहीले बताउनुभयो । काठमाण्डौं,लुम्बिनी पछि सम्पदा र एतिहासिक धार्मिक हिसावले हाम्रो जिल्ला तेस्रो स्थानमा पर्छ । तर विडम्बना यहाँका सम्पदाको संरक्षण गरि स्थानीय सरकार र स्थानीयबासी जुन फाईदा लिनुपर्ने त्यो लिन सकेका छैनन् । त्यसका लागि स्थानीय सरकारले सम्पदाको संरक्षणका साथै स्थानीयलाई सम्पदाको महत्वबारे जनचेतना जगाउनुपर्ने उहाँको भनाई छ । 


कोतगढी, दुल्लुदरवार, नेपाली भाषाको पहिलो शिलालेख, बिभिन्न शिलालेख तथा मुर्तिहरु ऐतिहासीक आर्कषण, प्रज्वलित ज्वाला बलिरहने श्रीरस्थान र नाभिस्थान  नेपालकै एकमात्र ज्वालामुखिको चिन्न रहेको धुलेश्वर मन्दिर, विश्वसम्पदाको सुचिमा प्रस्तावित भुर्तिको पञ्चदेवल समेत ओझेलमा परेका छन्,उहाँले थप्नुभयो ।  

सम्पदा संरक्षण सरसफाई स्थानीय सरकारले हेरिदिनुपर्ने स्थानीयवासी नन्दा सिंहले बताउनुभयो । जिल्ला बाहिरबाट मान्छे हेर्न आउँछन,फोहोरै फोहोर देखेपछि ठाउँ राम्रो भएपनि वातावरण राम्रो छैन भनेर जान्छन । उहाँहरुले यहाँबाट आफ्नो जिल्लामा कस्तो सन्देश लिनुहोला ापञ्चदेवल क्षेत्रको उचित संरक्षण,प्रचार प्रसारमा स्थानीय सरकारले चासो नदिँदा आन्तरिक र वाह्य पर्यटक नआएको स्थानीयबासीको आरोप छ । 
तर स्थानीय सरकार र जिल्ला प्रशासन भने पुरातात्विक संरचनाको संरक्षणमा लागि परेको दावी गर्छ । मर्मत सम्भार र जीर्णोदारको लागि म निर्वाचित भईसकेपछि पहिलो प्राथमिकता राखेको नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,र दुई चरणमा निर्माण कार्य शुरुवात गरेका छौं । विगतको भन्दा अहिले देवल वरिपरि घेरवार,कम्पाउण्ड वाल,विद्युत व्यवस्थापन,क्यामरा लगायत अन्य कुरा व्यवस्थापन गरेका छौ ।
 सम्पदाको संरक्षण,मर्मत सम्भार गर्न सकियो भने पर्यटन गन्तब्यको विकास गर्न सकिने,त्यसको लागि सबै क्षेत्र क्रियाशिल हुनुपर्ने  प्रमुख जिल्ला अधिकारी खिमराज भुसाले बताउनुभयो । सम्पदा सुरक्षाको लागि सबै प्रहरी युनिटलाई निर्देशन दिईसकेको छु । 
तर संरक्षणको अभाव अधिकाँश देवल लडेर छरफस्ट छन् । सरसफाईको अभावले देवल वरपर  फोहोर र दुर्गन्ध छ । ओठे प्रतिवद्धता भन्दा पनि स्थानीय सरकारले काम गरेर देखाउन सकेमात्र सम्पदा संरक्षण सार्थकता पाउने स्थानीयबासी बताउँछन् ।  

  
लोप हुने संघारमा संस्कृति 
          त्यसैगरि सम्पदा सँगै जिल्लाका संस्कृति पनि लोप हुने क्रममा छ । पछिल्लो समय नयाँ पिढी रोजगारीका लागि जिल्ला बाहिर हुने भएकाले संस्कृति लोप हुन लागेको स्थानीयबासी बताउँछन् । गाउँका अधिकाँश युवा बेरोजगार भएर कोही खाडी,मुग्लान लागे । हामी त बुढो भईसक्यौं । नयाँ पिढि नहुँदा संस्कृति नै लोप हुन लागेको ठाटीकाँध गाउँपालिका १ मनबहादुर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो,  हुड्के, पैजरी, मारुनी, सारौ, देउडाखेल, माँगल,लगायतका कला सस्कृति लोप हुन नदिनका लागि स्थानीय सरकारले बजेट विनियोजन गरि संस्कृति बचाउनुपर्छ अनि मात्र पछिल्लो पुस्ताले सिक्न सक्छन उहाँले भन्नुभयो । 
   

  दहीलेकबाट अपभ्रंस हुँदै दैलेख नामाकरण रहन गएको ऐतिहाँसिक किम्बदन्ती ,भएपनि परापुर्वकालमा दधिची ऋषिले तपस्या गरेका र धेरै दही पाउने भएका कारण दैलेख हुन गएको भन्ने अर्को कथन रहेको छ । पाण्डबहरुका पालामा निर्माण गरिएको मृर्तिहरु पर्यटनको आर्कषणको पक्ष मानिएका छन् । 


जातजातिको उद्गमस्थलका लागि उदासिन सरकार 
     दैलेखलाई ३६ जातजातिको उद्गमस्थल मानिएपनि स्थानीय सरकारको उदासिनले उद्गमस्थल ओझेलमा परेका छन् । प्रदेश र स्थानीय सरकारले उद्गमस्थलबारे प्रचार प्रसार र चासो नदिदा उदग्रमस्थल ओझेलमा परेको दुल्लूनगरपालिका टोपबहादुर थापाले बताए । स्थानीय सरकारले उद्गमस्थलबारे प्रचार प्रसार गरिदिए पछि अधिकाँश मानिस यहाँ आउने छन्,अवलोकन गरेर जानेछन् । आन्तरिक पर्यटकसँगै आम्दानी पनि हुन्छ । तर स्थानीय सरकार चासो छैन । चुनावताका घोषणा पत्रमा अनेकौं आश्वासन दिन गरेपनि विजयपछि कोही नेताले चासो दिदैन,उहाँले भन्नुभयो । 
        विभिन्न ३६ जातजातीका थरहरुको उद्गम स्थल मानिएको यस जिल्लामा  सम्बन्धित निकायको ध्यानाकर्षण नहुँदा पर्यटन विकासमा टेवा पुग्न सकेन छैन । जातजातिको उद्गम स्थल मानिएको यहाँका विभिन्न ठाँउबाट नै जातजाति नाम रहेकोे पाइन्छ ,जस्तै भुर्तीबाट भुर्तेल,  दुल्लुबाट दुलाल , नेपाबाट नेपाल, कोईरालागाउँबाट कोईराला, कट्टिबाट कटेल, लयाँटीबाट लुईटेल, रिजुबाट रिजाल, दहबाट दाहाल, बस्तेकोटबाट बस्ताकोटी, बासीबाट बस्याल ,पराजुलबाट पराजुली लम्सुबाट लम्साल ,रुपाखेतबाट रुपाखेती ,दवाडाबाट दवाडी,वडबाट वडाल लगायतका ३६ वटा जातजातिको उद्गमथलो दैलेख भएको  ईतिहासमा  उल्लेख छ ।
  अघिल्लो बर्ष तत्कालिन  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुख्यौली थलो दुल्लूको दहमा पुगि कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो जातीहरुको उत्पतिस्थलमा पहिलो पटक शालिक अनावरण गरेका थिए ।  दह गाउँ दाशु सन्ततिहरु दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरुको आदिभूमि हो ।

कुल शिरोमणि दासुको सुरुको बसोबास भएको स्थान दह गाउँमा ६६ इन्चको पूर्ण कदको प्रतिमा (शालिक) स्थापना गरिएको दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानका सल्लाहकार गंगाराम दाहालले बताए ।
 

प्रतिक्रिया