सामाजिक विकास समिति सभापति भण्डारीद्वारा कार्य प्रगति सार्वजनिक

२७ बैठक सम्पन्न भई विभिन्न जिल्लामा संसदीय अनुगमन, निगरानी, देखि अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइसम्म

सामाजिक विकास समिति सभापति भण्डारीद्वारा कार्य प्रगति सार्वजनिक

सुर्खेत -   कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आफ्नो नेतृत्वमा भएका कार्य प्रगति सार्वजनिक गर्नुभएको छ । 

उहाँले वीरेन्द्रनगर सुर्खेतस्थित समितिको कार्यालयमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत् विसं २०८० जेठ १४ गते सभापतिमा निर्वाचित भएदेखि विसं २०८१ साउन १९ गतेसम्मको कार्य प्रगति सार्वजनिक गर्नुभएको हो । उहाँले सो अवधिमा २७ बैठक सम्पन्न भई विभिन्न जिल्लामा संसदीय अनुगमन, निगरानी, अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अन्य क्रियाकलापको मूल्याङ्कन गरी आवश्यक निर्देशनसहितको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने व्यवस्था बमोजिम समितिले सम्बन्धित सरोकारवाला निकायलाई १५ भन्दा बढी निर्देशन दिइएको छ, दिइएका निर्देशनहरु सरकारले कार्यान्वयनमा ल्याएको अवस्था छ ।”

कार्य क्षेत्रभित्र पर्ने मन्त्रालय, आयोग र निकायसँग सम्बन्धित विधेयकमाथि दफावार छलफल गरी सोको प्रतिवेदन प्रदेशसभामा पेस गर्ने व्यवस्था बमोजिम यो अवधिमा समितिले सरकारले खेलकुद विकास ऐनलाई संशोधन गर्न बनेको विधेयक उपर चार बैठक बसी अन्तिम पटक मन्त्रालयले विधेयक फिर्ता गर्न पठाइएका पत्रका आधारमा समितिबाट प्रतिवेदनसहित सभामा पेस गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार आन्तरिक कार्य सञ्चालन कार्यविधि र कानुनको उत्तरविधायिकी परीक्षण, अध्ययन तथा अनुसन्धानसम्बन्धी कार्यविधि २०८१, निर्माण गरिएको छ ।

भण्डारीका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५४ बमोजिम गठन हुने चार विषयगत समितिमा यस समितिको कार्य क्षेत्रअन्तर्गत सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम, सामाजिक न्याय र मानव अधिकारसम्बन्धी विषय रहेका छन् ।

प्रतिक्रिया