खोई ३२ हजार विद्यार्थी ?

खोई ३२ हजार विद्यार्थी ?

काठमाडौं - कक्षा १० को  अन्तिम परीक्षा (एसईई) को नतिजामा सातै विषयमा एनजी आएका र यस अघिको नियमित परीक्षामा अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरिए पनि ३२ हजार विद्यार्थी हराएका छन् । बुधबारबाट शुरु भएको मौका परीक्षामा सहभागी हुन दुई लाख नौ हजार आठ सय चार जनाले अनलाइन फारम भरेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । जब की  दुई लाख ४१ हजार आठ सय चार विद्यार्थीले मौका परीक्षा दिन पाउने तथ्याङ्क सार्वजनिक भएको थियो । 

यस अघि दुई विषयमा ननग्रडेड भएका विद्यार्थीले मात्रै मौका परीक्षा दिने पाउने व्यवस्था थियो । तर, धेरै विद्यार्थीको नतिजा ननग्रेडेड भए पछि तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठले लेटर ग्रेडिङ् निर्देशिका संशोधन गरेर सातै विषयमा ननग्रेडेड भए पनि  मौका परीक्षा दिन पाउने व्यवस्था गरेकी थिइन् । 

तर, मौका परीक्षाको अवसर आउँदा पनि ३२ हजार विद्यार्थी हराउनुलाई कक्षा १० को अन्तिम परीक्षाको विकल्पका बारेमा राज्यका निकाय गम्भिर नहुँदाको परिणाम मान्छन् शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला । जसरी हुन्छ सतप्रतिशत विद्यार्थी पास हुनै पर्छ भन्ने मानसिकताको उपजले यो अवस्था आएको उनको तर्क छ । 

‘कक्षा १० पास नभए पनि जीवनमा गरिखाने बाटा धेरै छन् भन्ने कुरा बुझाउन राज्यका संयन्त्रहरु चुक्दाको परिणाम विद्यार्थी हराएका हुन्’ कोइरालाले भने, ‘जसरी हुन्छ कक्षा १० पास हुनै पर्ने किन ? हरेक विद्यार्थीको फरक फरक क्षमता हुन्छ, कोहि पढ्न सक्षम हुन्छ, कोहीसँग सीप सिक्ने रुची हुन्छ, सीप सिक्न सक्छ, विद्यार्थीलाई पढाउँछु भन्नेहरुले उदार कक्षोन्नती बुझे तर विद्यार्थीको न्यूनतम सक्षमता बुझेनन् त्यसैले यो अवस्था आयो ।’

कति विद्यार्थीले पढेर गरी खाईन्न भन्ने हिनतावोध कति विद्यार्थीले अनलाईन फारम भर्न नजानेका वा पहुँच नभएका कारण पनि छुटेका हुन सक्ने निश्कर्ष छ । 
कक्षा ९ सम्म सतप्रतिशत पास गर्ने र १० मा आए पछि हल्ला खल्ला गर्ने शैलीको परीक्षा प्रणाली नै बदल्नु पर्ने उनको सुझाव छ । लेटर ग्रेडिङको अर्थ सही रुपमा बुझ्न र बुझाउन नचाहने शिक्षा मन्त्री, शिक्षा मन्त्रालय र परीक्षा बोर्डका उच्च कर्मचारीकै कारण परीक्षा देखि विद्यार्थी भागेको  उनको निश्कर्ष छ । 

‘कक्षा ९ सम्म एक शैलीको परीक्षण अनी कक्षा १० मा अर्कै शैली किन चाहिएको हो ?’ प्रश्न गर्दै उनले भने ‘विद्यार्थीले आफूले आफैंलाई जाँच्ने विधि अपनाएको हैन र त्यसो हो भने किन विद्यार्थीलाई उसको रुची र सक्षमताका आधारमा अघि बढ्न रोकेर पासै हुनु पर्ने बनाईएको हो ’ 

कति विद्यार्थीले पढेर गरी खाईन्न भन्ने हिनतावोध कति विद्यार्थीले अनलाईन फारम भर्न नजानेका वा पहुँच नभएका कारण पनि छुटेका हुन सक्ने उनको निश्कर्ष छ । 

अहिले परीक्षामा सहभागी नभएका विद्यार्थी कुन जिल्लाका कति छन् रु भन्ने यकिन विवरण संकलन भईसकेको छैन । छात्र र छात्राको संख्या पनि यकिन छैन । परीक्षा दिन योग्य मध्ये आठ हजार जना गत चैतमा भएको नियमति परीक्षामा अनुपस्थित थिए । दुई लाख ४१ हजार आठ सय चार विद्यार्थीको संख्या भित्रै  यी आठ हजार विद्यार्थीको संख्या पनि संलग्न छ । 

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पढेर के हुन्छ र  भन्ने विद्यार्थीमा विकास हुँदै गएको नैराश्यताका कारणले पनि यस्तो अवस्था आएको दावी गर्छन् । त्यो समूहका बालबालिकालाई पढाई सिकाइ प्रति उत्प्रेरित गर्न राज्य, विद्यालय, शिक्षक र अभिभावकले ध्यान नदिदाँ यो अवस्था आएको उनको तर्क छ । 

‘प्राविधिक रुपमा बसाई सराई, आर्थिक गरिबीले गर्दा काममा जानु पर्ने वाध्यता जस्ता कारण पनि होलान् तर राज्य अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन लागू गर्ने, त्यसलाई कार्यान्वयन नगर्दा कसलाई के कारवाही गर्ने हो, भन्ने नै अस्पष्ट हुँदाको परिणाम हो यो’ उनले भने ‘ती वर्गका विद्यार्थी कहाँ के गर्दै छन् भनेर खोज्ने, उत्प्रेरित गर्ने जस्ता काम हुन सकेनन्, त्यसैले विद्यार्थी पढाईबाटै टाढा पुगे ।’ 

परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्मा नतिजा आएको एक महिनामै परीक्षा भएकाले सबै विषय ुपासु हुन सक्दिन बरु अर्को बर्ष पुरै पढेर सबै विषय ुपासु गर्छु भन्ने सोच्ने विद्यार्थीका कारण यो संख्या कम भएको दावी गर्छन् । 

‘विद्यार्थीले धेरै विषय दिनु पर्दा एक महिनामा सबै तयारी गर्न नसक्ने भए पछि झन् दवाव हुने भयो, त्यसैले विद्यार्थीले आँट नगरेको हुन सक्छ’ उनले भने ‘कतिपय विद्यालयहरुले त अहिले नदेउ अर्को बर्ष पुरै पढेर देउ राम्रो नतिजा आउँछ भनेर रोकेको पनि देखियो ।’ 

सबै विद्यार्थी पास गर्ने उद्देश्य साथ गरिएको यो व्यवस्थामा पनि ३२ हजार विद्यार्थीले भने परीक्षा दिन रुची देखाएनन् । 
चार लाख  ६४ हजार सात सय ८५ विद्यार्थी सहभागी भएको ०८० सालको कक्षा १० को अन्तिम परीक्षा  (एसईई) को नतिजा गत असार १३ गते सार्वजनिक भएको थियो । नतिजा अनुसार ४७/८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । ५२/१४ प्रतिशतको एनजी आएको थियो । १० कक्षाको विद्यार्थीको सिकाइ उपलब्धी २०७२ देखि ग्रेडिङ प्रणालीबाट हुन थालेको थियो । यस पालि भने सैद्धान्तिक र प्रयोगात्मक छुट्टा छुटटै ३५ प्रतिशत ल्याउनै पर्ने र नल्याएमा एनजी आउने व्यवस्था गरिएको थियो । अर्थात् कुनै विषयमा २७ नम्बर भन्दा कम आउने बित्तिकै ग्रेडसिटमा समग्र जीपीए एनजी उल्लेख गरिएको थियो ।

यसपालि प्रयोगात्मक र सैद्धान्तिकको नम्बर फरक फरक रुपमा ग्रेडसिटमा उल्लेख छ । विगतमा प्रयोगात्मकमा २५ अंक विद्यालयले दिएको छ . विद्यार्थीले लेखेर ५ अंक मात्रै ल्यायो भने पनि दुबै जोडिएर एउटै जीपीई हुन्थ्यो । विषयगत ग्रेड निर्धारण हुन्थ्यो । यसपालि दुबै फरक हुने गरी नतिजा सार्वजनिक गरिएको थियो । 

यसो गर्दा धेरै विद्यार्थी ननग्रेडेड भए पछि तत्कालिन शिक्षा मन्त्री श्रेष्ठले आलोचनाका बिच सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरिन् । सोही अनुसार बुधबारबाट शुरु मौका परीक्षा यस अघि हुने नियमित परीक्षा कै शैलीमा जारी छ । 

सबै विद्यार्थी पास गर्ने उद्देश्य साथ गरिएको यो व्यवस्थामा पनि ३२ हजार विद्यार्थीले भने परीक्षा दिन रुची देखाएनन् । 

‘एक थरी विद्यार्थी फेरी एक बर्ष पुरै अध्ययन गरेर राम्रो जीपीए ल्याउँछु भनेर मौका परीक्षा नदिएको हुन सक्छ’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने,‘अर्को चाँहि एक महिना पढेर पास नहुने ठानी निरास भएर परीक्षा फारम नभरेको पनि हुन सक्छ ।’

साभार:एडुखबर 

प्रतिक्रिया