घर भत्किँदा दुई घाइते, आर्थिक अभावले उपचारमा समस्या

नारायण नगरपालिकाका मेयर लोमन शर्माले आफूहरु केही गर्न नसकिने 'अस्पताललाई भनौंला' भन्ने आश्वासन

घर भत्किँदा दुई घाइते, आर्थिक अभावले उपचारमा समस्या

दैलेख – नारायण नगरपालिका वडा नं. ५ लेकाली टोलमा शुक्रबार विहान घर भत्किँदा दुई जना घाइते भएका छन् । घर भत्किँदा २१ वर्षीय गणेश बिक र १४ वर्षीय मंगल बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो । 

विहान साढे ६ बजेतिर घर भत्किएको बेला ओछ्यानमा सुतिरहेका दाजुभाई घाइते भएका प्रहरीले जनाएको छ । घर भत्किए लगतै स्थानीय र भैसेखोर अस्थायी प्रहरी चौकीको टोलीले घाइतेहरुको उद्धार गरी दैलेख अस्पतालमा पठाएको थियो । 

घाइतेहरुलाई प्राथमिक उपचारपछि गम्भीर घाइते गणेशलाई सुर्खेत पठाइएको र मंगलको चाहिँ दैलेख अस्पतालमा उपचार गरिएकाे थियाे । गणेशको घाँटीको पछिल्तिर ढाडको हाड फुटेकोले थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको दैलेख अस्पतालका डा. धर्मराज रेग्मीले बताउनुभयो । 

आर्थिक अभावले उपचारमा समस्या 
दैलेख अस्पतालमा दुवै भाईलाई अस्पतालमा दुबै भाईको नाम दर्ता, अस्पतालको फार्मेसीबाट किनेको औषधि र नेक बेल्ट समेतको १८ सय रुपैंयाँ तिर्ने रकम नपाएर मंगलका साथ रहेका आफन्तहरु अप्ठ्यारोमा छन् । 

कर्णाली प्रदेश अस्पताल पु¥याइएका गणेशको घाँटीको हड्डी अप्रेसन गर्न डेढ लाख जम्मा गर्न अस्पताल प्रशासनले भनेपछि परिवारजन उपचार थाल्ने कि फर्काएर घरतिर गइहाल्ने भन्नेमा दोधारमा परेका गणेशका दाजु रुपेश बिकले टेलिफोनमा भन्नुभयो । 

घाइतेहरु तिर्न सक्दैनन्, राज्य अनुदार 
नारायण नगरपालिका वडा नं. ५ लेकाली टोल जिल्ला सदरमुकामको सबै भन्दा विपन्न बस्ती हो । यो बस्तीका ७ घर सबैजसो दाउरा बेचेर जीविका चलाउछन् । ती ७ घर मध्ये बलबहादुरका ४ छोरा मध्ये माइलो गणेश र कान्छो हुन् मंगल । 

बुबा बलबहाुदर बिक (४२) दुई महिना अघि भारतको सिम्ला पुगेर त्यहाँ मजदूरी गर्छन् । गणेशको साइलो भाई धनबहादुर बिक (१८) दुई वर्षदेखि अहमदाबादमा होटलमा काम सिक्दैछन् । आमा खगिसरा बिक (४१) पाठेघरको अप्रेसन गर्न साउन १३ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा बेड भर्ना भएकी छिन् । 

कमाउन सक्ने गणेशको जेठो दाजु रुपेश (२४) मानो छुट्टिएर अलग्गै घर बनाएर बसेका छन् । रुपेशको श्रीमति अञ्जू (२१), छोरा केशव (५) र छोरी झरना (२) समेतको परिवार अलग्गै घर भएका र परिवारका सदस्यहरु घर वाहिर भएको कारण घर भत्किँदा गणेश र मंगल मात्र घाइते भएका हुन् । 

नेपाल सरकारले खरको हटाउने कार्यक्रम ल्याएको तीन वर्षमा २०७८ को हिउँदमा नारायण नगरपालिकाले टिन दिने आश्वासन लिएको बेला खर हटाएको बेला हिउँदे झरीमा गलेको कारण घर कमजोर भएको र यस पटक भत्किएको स्थानीय कौशिला बिकले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘१८ सय पनि तिर्न नसक्ने साँच्चै गरिब परिवार हो ।’ 

घर भत्किँदा घाइते भएका गणेश र मंगलको परिवारले १८ सय पनि तिर्न नसकेको विषयमा सुनाउँदा जिल्ला प्रशासन कार्यालय उपचारमा सहायत गर्न नसकिने प्रतिक्रिया आएको र नारायण नगरपालिकाका मेयर लोमन शर्माले आफूहरु केही गर्न नसकिने अस्पताललाई भनौंला भनी आश्वासन दिएको परिवारजनले सुनाए । 


 

प्रतिक्रिया