जसप्रति लचिलो थिए उनैबाट मारिएका थिए डेकेन्द्र
माओवादीले 'केही गर्दैनन्' भन्ने बढ्तै आत्मविश्वास थियो डेकेन्द्रलाई । युद्धको बेला जसप्रति लचिलो थिए उनैको यातनाबाट उनी मारिए ।
डेकेन्द्रराज थापा त्यसबेला दैलेख बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षको हैसियतले त्यसबेला खानेपानी आपूर्ति भइरहेको कालेखोला मुहान मर्मत गर्न त्यसतर्फ जाँदै गर्दा जिल्ला सदरमुकामदेखि उत्तरमा पर्ने नारायण नगरपालिका–५ भैंसेखोर पुगेको बेला सशस्त्र युद्धरत पक्ष नेकपा माओवादीले नियन्त्रणमा लिएको ४५ दिनमा साविकको द्वारी गाविस–१ अहिलेको नौमूले गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा युद्धरत पक्षको यातनाको कारण ज्यान गएको थियो ।
मारिएको ४ वर्षपछि इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा २०६५ को साउनमा शव उत्खनन् गरी कानूनी प्रक्रिया सुरु गएको थियो । डेकेन्द्रको शव उत्खनन्पछि हिन्दू धार्मिक सँस्कार अनुसार सदगद् गरेको थियो । त्यसबेला शव परीक्षणपछि व्यक्ति हत्या सरह दर्ता भएको कर्तव्यज्यान मुद्दाको कारवाही प्रक्रिया विषयमा स्थानीय पत्रकारले निरन्तर सवाल उठाएपछि २०६९ पुसमा नेपाल पत्रकार महासंघले सशक्त आन्दोलन गरेपछि माओवादी नेतृत्वको सरकारको व्यवधानबीच पनि दैलेख प्रहरीले अनुसन्धान थालेर ८ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा अदालत पु¥याएको थियो ।
अदालत पुगेको उक्त मुद्दामा २०७१ मंसिर २१ गते दैलेख जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासबाट त्यसबेला प्रहरीले पक्राउ गरेका ५ जनालाई डेकेन्द्र मारिएपछि गाड्ने काममा खटेको भूमिका अनुसार एक देखि दुई वर्षसम्म सजाय गरेको थियो । त्यसबेला मुख्य दोषी देखाइएका तीन जना बिरुद्ध मुद्दा मुल्तबी राखिएको र युद्धको क्रमको घटना भएको कारण जनाउदै सत्य निरुपण तथा छानबिन आयोग अनुसार माफी वा परिपूरणमा लिन चाहेमा लिन सकिने न्यायाधीश श्रेष्ठको सो फैसलामा उल्लेख गरिएको थियो ।
डेकेन्द्रको हत्यामा संलग्न भएको भनी २०७६ फागुन २१ गते पक्राउ परेका मुख्य आरोपित मध्येका एक जना पक्राउ परेपछि मुल्तबीको मुद्दा जगाई २०७८ मंसिर २६ गते अन्तिम फैसला गरिएको हो । तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुर्पक्ष लागि थुनामा रहेका र अर्का आरोपितलाई जन्मकैद र एक जनालाई तीन वर्ष मात्र कैद गरेको थियो । डेकेन्द्र मारिएको समयमा रेडियो नेपालको जिल्ला सम्वाददाता थिए । उनी गायक, राम्रो उद्घोषणकला, सामाजिक काममा तत्परता जनाउने सक्रिय समाजसेवीका रुपमा स्थापित छन् । पत्रकार भएकै कारण थापा सशस्त्र युद्धको समयमा मारिएका १३ हजार दुई सय ३६ मध्ये सबै भन्दा धेरै चर्चा पाएका व्यक्ति बनेका छन् ।
२०४७ फागुनमा एक कार्यक्रममा बायाँबाट म अमर सुनार, बालकृकृष्ण केसी र डेकेन्द्रराज थापा ।
पत्रकारिता पेशामा सहपाठी, उमेरले संगसंगैका दाैतरी र आस्थाको सांगठनिक संगत धेरै यादगारहरू छन् । २०६१ जेठ १८ गते जिल्ला प्रशासन कार्यालय चुप्रामा आयोजनाको सेवा शिविरमा दिनभर स्थानीयसंग भेटघाट, भलाकुसारी, सेवाग्राहीका सन्तुष्टी र गुनासोहरु सुन्यौं । शिविर सकिएपछि फर्किदा पिपलचौताराको पसलमा कोल्डड्रिंक पिएर त्यो बेलाको झोलुंगे पुल तरेर साँडूको उकालो लाग्न लाग्दैगर्दा साँझ करिब ५ बजेतिर माओवादीले चुप्रा माथितिरबाट फायर खोलेपछि दोहोरो भीडन्त भयो ।
हामी खोल्सा खोजेर लुक्यौं, करिब आधा घण्टाको फायरिंग रोकिएपछि छिटोछिटो गरी जिल्ला सदरमुकाम आयौं । त्यो नै अन्तिम संगत भयो । डेकेन्द्र र मसंगै युद्धको प्रभाव वा परिवेश यस्ता धेरै भोग्यौं । डेकेन्द्र बोलक्कड भएकोले उनलाई माओवादीले असल साथीको रुपमा रोजेका थिए, मलाई चाहिँ जिल्लामा मानवअधिकार सम्वद्र्धन सवालमा सक्रिय व्यक्ति जनयुद्धमै सामेल गराउन चाहेको पटक पटक भनी रहन्थे । सरकारले थुनेका मान्छे छुटाउने हाम्रो पैरबीले तपाईलाई फाईदा पुगेकै छ किन हामी भूमिगत हुनु भनेर भन्थ्यौं । माओवादीले अपहरण गरेकाहरु छुटाउन पनि हामी नै अग्रसरता लिन्थ्यौं । त्यसले पनि मध्यस्त गरिदिने हामीलाई देखेर होला त्यसपछि चाहिँ त्यति कहर लाउँथेनन् ।
डेकेन्द्रराज थापा बाँचेको भए ५३ वर्ष ३ महिना उमेर पार गरेको हुन्थे, उनी मारिएको २० वर्ष पुगेको छ । ३२ वर्षको उमेर मारिएका थापाको जन्म २०२८ वैशाख २० गते भएको थियो, मारिएको चाहिँ २०६१ साउन २७ गते । माओवादीको जिल्ला नेतृत्वसंग राम्रो सम्वन्ध भएको तर आफूहरुलाई उपेक्षा गरेको ठानेका तल्लो तहका कार्यकर्ताहरुले भूमिगत गराउन दवावका लागि यातनाको कारण डेकेन्द्र मारिएको घटनापछि माओवादीले क्षमा याचना गरेको घटनाले पनि पश्चातापको अभिव्यक्ति थियो । सायद माओवादीबाट नमारिएकाे भए परिवर्तनकाे पक्षधर क्रान्तिकारी उनी ढिलोचाँडो माओवादी सशस्त्र युद्धमा होमिएका हुन्थे । समग्रमा माओवादीले केही गर्दैनन् भन्ने बढ्तै आत्मविश्वास थियो डेकेन्द्रलाई । युद्धको बेला जसप्रति लचिलो थिए उनैको यातनाबाट उनी मारिए । भरखरै जस्तो लाग्छ, २० वर्ष पुगेछ । स्वर्गीय डेकेन्द्रप्रति हार्दिक श्रद्धाञ्जली !
प्रतिक्रिया