डेकेन्द्र स्मृति : पत्रकार र बहुआयमिक व्यक्तित्व

डेकेन्द्र स्मृति : पत्रकार र बहुआयमिक व्यक्तित्व

दैलेख – दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले पत्रकार समाजको ऐन भएकोले सामाजिक समस्या र राज्यका निकायबाट भएका राम्रा काम र कमीकमजोरी औल्याउन आग्रह गर्नुभएको छ । पत्रकार डेकेन्द्रराज थापाको २० औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला शाखाद्वारा दैलेखमा आयोजित स्मृतिमा डेकेन्द्र अन्तरसम्वाद कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

त्यसबखत प्रमुख जिल्ला अधिकारी भुसालले अदालतले दोषीलाई कारबाही गरेकोले राज्यको तर्फबाट गर्ने सहयोग र सम्मान गर्न कमी नराखिने बचन दिनुभयो । कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्माले डेकेन्द्रको सामाजिक काम सम्झना स्मरण गर्दै उहाँको नाममा गरिने काममा नारायण नगरपालिकाको सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । 

अन्तरसम्वाद कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले सशस्त्र द्वन्द्वकालिन घटनाहरुका सम्वन्धमा प्रस्तावित सत्य निरुपण तथा छानविन सम्वन्धी कानूनले द्वन्द्व व्यवस्थापनको स्थायी समाधान निकाल्नुपर्ने सुझाव दिनुभयो । 

नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रेमबहादुर बुढाले सशस्त्र द्वन्द्वकालमा मारिनु गम्भीर फौजदारी अपराध भएको उल्लेख गर्दै मारिएर पनि उहाँ सधैंका लागि बाँचिरहनुभएको बताउनुभयो । नेमकिपाका जिल्ला सदस्य रत्नेश श्रेष्ठले डेकेन्द्रले गर्नुभएको खानेपानी उपभोक्ता समिति र सामाजिक न्यायको विषयमा प्रकाश पार्नुभयो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जंगबहादुर शाहीले शासकीय स्वरुप बदल्ने, सामाजिक विसंगति विरुद्ध सचेतना कार्यक्रम प्रभावकारी बनाउन सके डेकेन्द्रप्रति सच्चा सम्मान हुने बताउनुभयो । कार्यक्रममा गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, दैलेख बारका सचिव प्रेमबहादुर थापा र दैलेख उद्योग बाणिज्य संघ उपाध्यक्ष राजेश हमालले पनि बोल्नुभएको थियो । 

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाको आयोजनामा भएको स्मृतिमा डेकेन्द्र अन्तरसम्वाद कार्यक्रममा अग्रज पत्रकार अमर सुनार, फाेटाे पत्रकार महासंघका केन्द्रीय सचिव बिशाल सुनार,  प्रेस यूनियनका जिल्ला सभापति अभिशेक अनुराग, प्रेस चौतारीका जिल्ला अध्यक्ष पुस्कर थापा, प्रेस सेण्टरका जिल्ला अध्यक्ष रामकृष्ण कठायत, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भीम सिजापतिले पनि डेकेन्द्रको पत्रकारिता र बहुआयामिक व्यक्तित्व विषयमा प्रकाश पार्नुभएको थियो । 

डेकेन्द्रराज थापा त्यसबेला दैलेख बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षको हैसियतले त्यसबेला खानेपानी आपूर्ति भइरहेको कालेखोला मुहान मर्मत गर्न त्यसतर्फ जाँदै गर्दा २०६१ असार १२ गते तत्कालिन युद्धरत माओवादीबाट अपहरण गरेको ४५ दिनपछि २०६१ साउन २७ गते अहिलेको नौमूले गाउँपालिका–३ द्वारीको एक विद्यालयमा यातनाको कारण ज्यान गएको थियो । 

मारिएको ४ वर्षपछि इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा शव उत्खनन् गरी कानूनी प्रक्रिया सुरु गएको थियो । डेकेन्द्रको शव उत्खनन्पछि २०६५ को साउन १८ गते हिन्दू धार्मिक सँस्कार अनुसार सदगद् गरेको थियो । परिवारजनले २०६५ भदौ ६ गते कर्तव्यज्यान मुद्दा दर्ता गराएको थियो । 

नेपाल पत्रकार महासंघले सशक्त आन्दोलन गरेपछि दैलेख प्रहरीले अनुसन्धान थालेर जिल्ला सरकारी वकील कार्यालय मार्फत ८ जना विरुद्ध २०६९ माघ १० गते दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा अदालत पु¥याएको थियो । 

मुद्दामा २०७१ मंसिर २१ गते दैलेख जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासबाट त्यसबेला प्रहरीले पक्राउ गरेका ५ जनालाई डेकेन्द्र मारिएपछि गाड्ने काममा खटेको भूमिका अनुसार एक देखि दुई वर्षसम्म सजाय गरेको थियो । त्यसबेला मुख्य दोषी देखाइएका तीन जना बिरुद्ध मुद्दा मुल्तबी राखिएको र युद्धको क्रमको घटना भएको कारण जनाउदै सत्य निरुपण तथा छानबिन आयोग अनुसार माफी वा परिपूरणमा लिन चाहेमा लिन सकिने न्यायाधीश श्रेष्ठको सो फैसलामा उल्लेख छ । 

डेकेन्द्रको हत्यामा संलग्न भएको भनी २०७६ फागुन २१ गते पक्राउ परेका मुख्य आरोपित मध्येका एक जना पक्राउ परेपछि मुल्तबीको मुद्दा जगाई २०७८ मंसिर २६ गते अन्तिम फैसला भएको थियो । तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट पुर्पक्ष लागि थुनामा रहेका र अर्का आरोपितलाई जन्मकैद र एक जनालाई तीन वर्ष मात्र कैद गरेको थियो । 

उहाँको जन्म २०२८ वैशाख २० गते दैलेखमा भएको थियो । डेकेन्द्र मारिएको समयमा रेडियो नेपालको जिल्ला सम्वाददाता हुनुहुन्थ्यो । उहाँ गायक, राम्रो उद्घोषणकला, सामाजिक काममा तत्परता जनाउने सक्रिय समाजसेवीका रुपमा परिचित नाम हो । पत्रकार भएकै कारण थापा सशस्त्र युद्धको समयमा मारिएका १३ हजार दुई ३६ मध्ये सबै भन्दा धेरै चर्चा पाएका व्यक्ति बन्नुभएको छ । 
 

प्रतिक्रिया