सामुदायिक विद्यालय पढेका ५९ प्रतिशत र निजीमा पढ्ने ३२ प्रतिशत फेल

सामुदायिक विद्यालय पढेका ५९ प्रतिशत र निजीमा पढ्ने ३२ प्रतिशत फेल

काठमाडौं–विद्यालय तहको अन्तिम १२ कक्षाको परीक्षा दिएका मध्ये सामुदायिक विद्यालय पढेका ४१ र निजी विद्यालय पढेका ६८ प्रतिशत विद्यार्थी पास भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो साता सार्वजनिक गरेको नतिजा अनुसार सामुदायिक विद्यालयबाट परीक्षा दिएको मध्ये ४१.४६ प्रतिशत पास भएका हुन् । त्यस्तै निजीबाट परीक्षा दिएका मध्ये ६७.८८ प्रतिशत पास भएका छन् । 
तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीले परीक्षा दिएकोमा दुई लाख तीन हजार आठ सय ४७ जना (५२.९१) पास भएका छन् । 

एक लाख ८७ हजार २१ जना फेल भएकोमा भदौ २५ र २६ मा हुने मौका परीक्षामा एक लाख २७ हजार सात सय छ जनाले  अवसर पाएका छन् । ५९ हजार तीन सय २१ जनाले भने अर्को वर्ष मात्रै परीक्षा दिन पाउने छन् । यसवर्ष अंग्रेजीमा मात्रै एक लाख दुई हजार दुई सय छ विद्यार्थीले एनजी ल्याएका छन् । 

सामुदायिक विद्यालयबाट दुई लाख ३२ हजार सात सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस मध्ये ९६ हजार पाँच सय ६ जना (४१।४६ प्रतिशत) पास भएका  हुन् । सामुदायिक विद्यालय पढेका  एक लाख ३६ हजार दुई सय ८९ जना (५८.५४ प्रतिशत) विद्यार्थी फेल भएका छन् ।  


त्यस्तै निजी शिक्षण संस्थाबाट एक लाख ५८ हजार ७३ जनाले परीक्षा दिएकोमा एक लाख सात हजार तीन सय दुई जना (६७.८८ प्रतिशत) पास भएका छन् । निजीबाट परीक्षा दिएका मध्ये ५० हजार सात सय ७१ जना फेल भएका (३२.१२ प्रतिशत) छन् । त्यस्तै उच्च जीपीए ल्याउनेमा पनि निजीमा पढेका अगाडि छन् ।

३.६१ देखि ४ जीपीए ल्याउने ९ हजार पाँच सय ९१ मध्ये सामुदायिकका एक हजार दुई सय २१ जना छन भने निजीबाट आठ हजार तीन सय ७० जना छन् । समग्रमा सामुदायिकबाट सहभागी  भएका मध्ये यो समूहको जीपीए ल्याउने शुन्य दशमलब ५३ प्रतिशत छन भने निजीबाट सहभागि मध्ये ५.३ प्रतिशत रहेका छन् ।

त्यस्तै ३।२१ देखि ३.६० जीपीए ल्याउने ४६ हजार आठ सय ९३ विद्यार्थीमा सामुदायिकका ११ हजार सात सय ९२ र निजीमा पढ्ने ३५ हजार एक सय रहेका छन् । कम जीपीए ल्याउनेमा भने सामुदायिक अघि देखिएको छ । २.४१ देखि २.८० जीपीए ल्याउने सामुदायिकका सामुदायिकका ४१ हजार रहेकोमा निजीको २० हजार मात्रै छन् । 

                                                                                           साभार:एडुखवर 

 


 

प्रतिक्रिया