जिल्ला सदरमुकाममा खानेपानी हाहाकार
दैलेख – काम विशेषले दैलेख सदरमुकाम पुगेका सबैले मिनरल बोतलको पानी किनेर खानुपर्ने अवस्था आएको छ । होटल, कार्यालय र सार्वजनिक शौचालय सबैजसो बन्द छन् । एक सातादेखि खानेपानी आपूर्तिमा अवरोध भएकोले सदरमुकाममा यो अवस्था आएको हो ।
भदौ २ गते महाबुमा गुरु पूर्णिमाका दिनमा लाग्ने महाबु धार्मिक मेलामा जाने यात्रुहरुको सुविधाको लागि सडक मर्मत गर्न लाग्दा सडक ओखरबासमा लगातार पहिरो खसेको कारण त्यही पहिरोले जीआई पाइप चुँडाइदिएपछि सहारे मुहानबाट आइरहेको दैलेखबजारको खानेपानी आपूर्ति अवरोध भएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेख, नारायण नगरपालिका र महाबु गाउँपालिकाको आग्रहमा सडक विभाग सुर्खेतले सदरमुकामदेखि महाबुधामसम्म मर्मत गर्न थालिएको काम ४२ किलोमीटर मध्ये करिब ३० किलोमीटर दूरीमा रहेको ओखरबास पहिरोले सडक सम्पर्क र खानेपानी आपूनि अवरोध पैदा भएको हो ।
त्यही ठाउँमा गत महिना गएको पहिरोमा करिब १५ दिन नेपाली सेना, नारायण नगरपालिका खानेपानी कार्यालय लगायतको अथक प्रयासले खानेपानी सुचारु गरिएको थियो, फेरि पहिरोले अवरोध पु¥यायो दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।
सडक विभाग सुर्खेतले ४ वटा डोजर प्रयोग गरिरहेको छ तर पहिरो हटाउन सकेको छैन, भिरालो भूबनौटको कारण विकल्पमा सडक लैजाने स्थिति पनि छैन महाबु गाउँपालिकाकी कार्यबहाक अध्यक्ष मञ्जू पाण्डेले भन्नुभयो । ‘दिनभर ठेकेदारको टोलीले काम गर्छ, साँझ बगिहाल्छ’ उहाँले भन्नुभयो ।
ओखरबासको पहिरोले खानेपानी आपूर्ति रोकिएपछि १० हजार भन्दा बढी उपभोक्ता रहेको दैलेख सदरमुकामका बासिन्दाहरु छिमेकी गाउँका मुहानहरुमा भींड लाग्ने गरेको छ । २०३२ मा १८ किलोमीटर दूरीको कालेखोलाको मुहानबाट ल्याएको पानी अपूरो भएपछि २०६६ मा ३५ किलोमीटर टाढाको सहारे मूलखोलाको पानी ल्याएपछि सदरमुकाममा खानेपानी प्रयाप्त भएको थियो ।
सदरमुकाममा चलिरहेको एक महिने वर्षे मेला चलिरहेको, दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन हेर्न आउने र मध्यपहाडी राजमार्गमा यात्रा सहज भएकोले पर्यटक बढेको यो समयमा पानीको खपत बढेको बेला खानेपानी अवरोध भएको छ ।
पर्यटक बढेको यो समयमा पानीको खपत बढेको बेला छिटो छरितो खानेपानी आपूर्तिको प्रयास भइरहेको तर प्राकृतिक समस्याले सबै प्रयासहरु असफल भएको नारायण नगरपालिका खानेपानी समितिका कार्यालय प्रमुख इञ्जिनियर राजन खड्काले सुनाउनुभयो ।
धेरै प्रयासपछि कालेखोला मुहानको पानी आपूर्ति भएकोले सदरमुकामको गहिरो भागतिर चाहिँ केही सानो मात्रामा पानी पठाउने प्रयत्न भइरहेको इञ्जिनियर खड्काले जानकारी दिनुभयो । कालेखोला प्रति सेकेण्ड ४ लीटर र सहारेको प्रति सेकेण्ड २० लीटर क्षमताको पानी नै सदरमुकामको खानेपानी श्रोत हो ।
प्रतिक्रिया