कर्णालीका तीन जिल्ला खाद्यान्न आत्मनिर्भर, सातमा खाद्यान्न अपुग

कर्णालीका तीन जिल्ला खाद्यान्न आत्मनिर्भर, सातमा खाद्यान्न अपुग तस्वीर ः विशाल सुनार /दैलेख

सुर्खेत - कर्णाली प्रदेशका १० जिल्ला मध्ये तीन जिल्ला मात्र खाद्यान्न आत्मनिर्भर भएको सरकारी तथ्यांकले देखाएको छ । जिल्लामा उत्पादनको भएको अन्नले खाना पुग्ने जिल्ला सुर्खेत दैलेख र सल्यान रहेको कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 
प्रदेशलाई पुर्णरुपमा खाद्यान्नमा आत्मनिर्भर हुन ३ लाख ४४ हजार ३२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिए । अन्य सात जिल्लाको उत्पादनले बर्षभरि खाद्यान्नले धान्दैन पाण्डेले भने । बार्षिक ९१ हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने सुर्खेत खाद्यान्नमा आत्मनिर्भर छ भने चार हजार ८६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ । 
त्यसैगरी, सल्यानमा बार्षिक ४७ हजार ७८८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि ५२ हजार ३७४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पाण्डेका अनुसार दैलेखमा पनि वार्षिक ५६ हजार ८१२ मेट्रिक टन उत्पादन हुन्छ भने दैलेखलाई ५० हजार ३६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । अन्य सात जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन्।

आर्थिक वर्ष २०८०÷८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।  मन्त्रालयको तथ्यांकअनुसार पाँच लाख ५२ हजार ९३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको भएको हो । सबै भन्दा वढी मकै उत्पादन हुने गरेको छ । गत आर्थिक बर्षमा मकै मात्र  दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन उत्दान भएको थियो भने एक लाख ५२ हजार ६२१ मेट्रिक टन गुहँ उत्पादन भएको छ ।  धान एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ । 
यहाँको प्रदेशमा मकै पहिलो,गहुँ दोस्रो र धान तेस्रो उत्पादन हुनेमा पर्छ । जौँ ११ हजार पाँच सय ५६, कोदो १६ हजार ३१०, फापर तीन हजार ८८, मेट्रिक टन उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस्तै, उवा एक हजार ८१९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार ६८१ मेट्रिक टन, कागुनो ९३६ मेट्रिक टन र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको छ । 
२३ हजार मेट्रिक टन भन्दा धेरै खाद्यान्न अपुग 
कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन भन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । तीन जिल्ला खाद्यान्नमा आत्मनिर्भर भएपनि अन्य सात जिल्लामा खाद्यान्न अपुग हुँदा  प्रदेशमा वार्षिक रूपमा २३ हजार ४३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो ।  राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । 
यो संख्यालाई आधार मान्ने हो भने  कर्णालीमा वार्षिक एकजनालाई २०१ किलो खाद्यान्न आवश्यक पर्छ । कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार ८९० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । डोल्पामा अहिले पनि वार्षिक पाँच हजार ९९ मेट्रिक टन खाद्यान्न अपुग छ । हुम्लामा आठ हजार ५६५, मुगुमा छ हजार ४३९, जुम्लामा तीन हजार पाँच मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग छ । 
सबैभन्दा धेरै कालीकोटमा १० हजार ३१७ मेट्रिक टन वार्षिक रूपमा खाद्यान्न अपुग हुँदा रुकुमपश्चिममा एक हजार ६१५ र जाजरकोटमा चार हजार २९९ सय मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको कृषि विकास निर्देशनालयको तथ्यांकमा उल्लेख गरेको छ ।  यो वर्ष हुरीबतासका कारण मकैबालीमा र केही जिल्लाको धानबालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्न क्षति भएका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयले जनाएको छ । 
खाद्यान्न अपुग भएको जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न सहुलियत दरमा खाद्यान्न डिपो र विक्री केन्द्रमा उपलब्ध गराउदै आएको छ । कम्पनीको प्रदेश कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०÷८१ मा ३७ हजार ८७३ क्विन्टल सुर्खेतबाट मात्र कर्णालीका जिल्लामा ढुवानी भएको छ भने नेपालगञ्जबाट कर्णालीमा पठाएको खाद्यान्नको विवरण यसमा उल्लेख नभएको कार्यालयले जनाएको छ । 
हुम्लामा १२ हजार ३६७ क्विन्टल, मुगुमा ५ हजार ४८१ , जुम्लाका ६ हजार १९७, डोल्पामा ३ हजार ३०४, कालिकोटमा २ हजार २२६ र जाजरकोटमा ३ हजार ६४० क्विन्टल खाद्यान्न ढुवानी सुर्खेतस्थित प्रदेश कार्यालयले गरेको जनाएको छ । 

प्रतिक्रिया