दैलेख ठाँटीकाँधकी धौलापडा माई – ‘एक अनुपम लोक साँस्कृतीक विश्वास र परम्परा’

दैलेख ठाँटीकाँधकी धौलापडा माई – ‘एक अनुपम लोक साँस्कृतीक विश्वास र परम्परा’ चक्र बहादुर शाही ठाँटीकाँध गाउँपालीका –५ डिल्ली आग्र, दैलेख हाल ठाकुरबाबा न.पा. – १ भुरीगाउँ, बर्दिया

 

   दैलेख - तीनतोलीको मुकुट छुचुन्नी शिखर फेदको पुर्वतर्फ उत्तर दक्षिण भएर दैलेखकै विशाल बिजार्याको मैदान लमतन्न फैलिएको छ । बिजार्या मैदानको दाँया तर्फ थोरै तल छुचुन्नीकै फेदमा पूर्व बाट पश्चिमतिर क्रमश ठुल्छणी, नान्छणी र बुकीछणी नामका तीन वटा पानीका छणा (झरना) निस्केका छन ।  झरनाहरुमा यिनिहरुको नाम अनुसारको जलधारा निसृत हुन्छ । यि तीन वटा झरना बाट निसृत हुने जलधाराले केही तलको मैदानी भागमा सुन्दर त्रिपन्नी (त्रिवेणी) बनाएका छन । यो त्रिपन्नी बाट  आग्रको गाण सुरु हुन्छ । 
   तीनतोलीको यो गाणले आफ्ना दाँयावायाँ रहेका धेरै खेतहरुका साथै लहलह धानका सुनौला बाला झुलाउने र पँहेलपुर गहुँका झुप्पाहरुलाई बयाली खेलाउने दैलैखकै प्रसिद्द अन्न भण्डार  चिन्या जिउलाको जिउलोलाई समेत सिंचित गर्दछ । यो जिउलामा लगाईने अन्नवालीलाई यही गाणको जलधाराले हराभरा पार्दछ । त्रिपन्नीको दायाँतर्फ गाणको पश्चिमी किनारमा गोठमष्टाको थान छ । गोठमष्टाको थान बाट करिब करिब एक किलोमिटर पर जुम्लीसालमा रहेको सानो चौरमा देउत्थान रहेको छ । देउत्थानको सिधै माथी दुवारी भिण (चट्टानको ढोका भएको भिण÷पखेरो) छ । देवत्थानको समानान्तर सिधै पारी गाणको पुर्वी किनारको डुप्कामा पनि देउतीको थान छ । ठुल्छणीको दायाँ तर्फको सुन्दर पहाडमा अलौकिक गुफा छ । सुन्दर पहाडको फेदमा भएकाले यो गुफालाई फेदाको गुफा भन्दछन । यहीको छडाथान गाउँको सिरानमा रहेको घना जंगल भित्रको चौरमा यहाँकी प्रसिद्द धौलापणा माईको मन्दिर छ । यो मन्दिरको वायाँ तर्फको पखेरोमा खोला किनार भन्दा अलि माथीको सतहमा एउटा अलौकिक गुफा रहेको छ ।
     
  माथी उल्लेख गरिए अनुसारको भु­भाग भित्र रहेका  देवि धौलापडा माई र गोठमष्टोको उत्पत्ति सम्बन्धमा यो ठाउँमा पुस्तौ देखी सुनिदै र कहिदै आएको कथा यस प्रकार रहेको छ । 
   हालको ठाँटीकाँध गाउँपालीका वडा नं. ५ मा पर्ने आग्र गाउँमा डिल्ली आग्र्या र सिल्टाकुर्या नामका टाकुरेहरुको जगजगी रहेका बखत लकान्द्रमा उनिकोट्याको रजगज चलेको थियो । एक दिन उनिकोट्याका पछुवाहरु (अहिलेको अर्थमा सिपाही÷पहरे) ऐणो (शिकार) खेल्दै ठुल्छणीको वायाँतर्फ रहेको खणीतोलामा पुगेछन । सामान्यतया उनीहरु  त्यो वनमा शिकार खेल्न आउने गर्दैनथे । त्यो बेला यो ठाउँमा निकै ठुलो र बाक्लो जंगल रहेको थियो । ठुलाठुला मालु र अन्य जातका लहराहरुले त्यो जंगल निकै जेलिएको थियो । एक दिन त्यहाँ धेरै मृगहरु देखे र चारैतिर बाट ऐणो हाले ( लखेट्दै घेराबन्दी) । विडम्बना एउटा मृगलाई पनि समात्न सफल हुन सकेनन् । 
ऐणो हाल्दाहाल्दै निकै थकित भए । अरु दिन भन्दा धेरै मृगहरु भटिनु ।  एउटाको पनि शिकार गर्न नसक्नुले उनिहरु आफैमा निकै पश्चाताप र आश्चर्य मानिरहेका थिए । मृगहरु लखेटदा लखेटदै झमम्क साँझ परिसक्यो ।  अव त्यो घनघोर जंगल छिचोलेर घर फर्कन सक्ने अवस्थामा थिएनन । यताउता गर्दा गर्दै घर फर्किने बाटो समेत पत्ता लगाउन सकेनन । भोक प्यास र थकाईले लखतरान परेर  त्यो जंगलभित्र भटकिरहे । रात निकै परिसकेको थियो । अलि तल जंगलको बिचमा एउटा बत्ति धिपधिप बलिरहेको देखे । सबैका मनमा एउटा आशाको किरण सल्बलायो, त्यतैतिर लागे । 
 केही समयको हिडाई पश्चात उनिहरु त्यो जंगल बिचमा रहेको एउटा सानो कुटीको आँगनमा पुगे । यो ठाउँलाई अहिले डुप्का भन्दछन । यो कुटी भएको ठाउँमा हाल ती देवीको थान रहेको छ । कुटी भित्र बाट मधुरो प्रकाश बाहिर आईरहेको थियो । उनीहरुले  बाहिर बाटै आवाज लगाए । कुटी भित्र बाट एक जना पुरुष बाहिर आए । शिकारीहरुले आफ्नो बृतान्त बताउदै आफुहरु भोक, प्यास र थकानले व्याकुल भएकोले आश्रयका लागी यहाँ आएको कुरा सुनाए । । उनिहरुका कुरा सुनी सके पछि ती पुरुष कुटी भित्र गए । एकैछिनमा कुटी बाहीर आए । सवैलाई भित्र लिएर गए । 
त्यो कुटी एउटा देवी, उनका भाई र उनिहरुकी एउटी धौलु (कैली) गाईको आश्रय स्थल थियो । भित्र पस्ने बित्तिकै आगो बलिरहेको अगेनाको वरिपर बसे । उनीहरुलाई पानी पिउन दिइयो । उनिहरु भोकै आएको थाहा पाएर देविले भाईलाई गाई दुहुन भनिन । भाई गाई दुहुन गए । गाईले अघिनै दुध दिएर त्यो दुध उनिहरुले खाई सकेको हुनु पर्दछ । तर पनि यो अबेर रातीमा त्यो गाईले फेरी दुध दियो । अगेनामा खिर पकाउनका लागी दुध खन्याईयो । देवीले एउटा भाँडो खोलेर हेरीन । त्यो रित्तो थियो । त्यस भाँडाको पिँधमा रहेको एक गेडो चामल हातमा लिदै देविले दुई टुक्रा पारीन । उनले त्यो चामलको आधा टुक्रा उम्लीरहेको दुधको भाँडोमा र आधा त्यही चामल रहेको भाँडोमा राखेर  ढक्कन बन्द गरिन । 
   रापिलो आगोमा मगमग बासना आउदै खिर उम्लीन थाल्यो । थकानले गलेका उनिहरु आगोको न्यानो र खिरको बास्नाले फुर्तिला देखिए । खिर पाक्यो । देविले मालुका टपरीहरुमा खिर भाग लगाईदिईन । उनिहरु आठ जना र साथमा एउटा कुकुर पनि थियो । सबैले पेटभर खीर खाई तृप्त भए । खीर पकाएको भाँडोमा अझै खिर बाँकी थियो । त्यहाँ कसैले केही बोलेनन । कुटी भित्रको दृश्य र देवीका दिदीभाईको व्यवहार देखेर ती शिकारीहरुले यो घना जंगलमा एक्लै बस्ने यिनीहरु सामान्य मानिस होईन भन्ने लख काटी सकेका थिए । देवि र उनका भाईले पनि उनिहरु संग अत्यावश्यक वाहेकको संवाद गरेनन । खाना पश्चात उनिहरु लाई अगेनाको वरिपरी सुत्ने व्यवस्था मिलाईयो ।
  भोली पल्ट बिहान उज्यालो भए पछि शिकारीहरुले भोजन र आश्रयका लागी देवी र उनका भाईलाई कृतज्ञता जाहेर गरी बिदा मागी आफ्नो बाटो लागे । बाटोमा उनिहरुले ती देवी तिनको भाई र गाईको बारेमा चर्चा गरे । यिनीहरुकै कारणले मृगहरु समात्न नसकिएको कुरा पनि उनिहरुले लख काटे । त्यहाँ बाट उनिहरु सरासर लकान्द्र फर्के । उनिकोट्याको दरबारमा उस्का शिकारीहरु हिजो शिकार बाट नफर्केकोमा चिन्ता र चासो सहित छलफल चलि उनिहरुको धात (खोज्न) जाने सल्लाह हुँदै थियो । 
 हराएका शिकारीहरु एकाएक आँगनमा टुपुल्कीएपछि सबैका मनमा कौतुहलता बढ्यो । उनिकोट्याले उनिहरु हिजो नफर्किनुको कारण सोधे । शिकारीहरुको अगुवाले हिजोको सबै घटना बेलीबिस्तार लगायो । उस्ले ती देवीको दिव्य स्वरुप र त्यहाँको सबै जानकारीको बेलीबिस्तार लगायो । उस्का कुरा सुनेर त्यहाँ उपस्थित सबै छक्क परे । उनिहरुले उनिकोट्यालाई ति देवी, उनको भाई र गाई समेत पक्रेर ल्याउनु पर्दछ भन्ने सल्लाह दिए । उनिकोट्याको मनमा पनि कुबिचार पस्यो । उस्ले तत्काल अझ ठुलो दलबल सहित त्यही ठाउँमा ऐणा गई उनिहरु लाई पक्रेर ल्याउने उर्दि जारी गर्यो । 
 सबैले खाना खाए । शिकारका लागी चाहीने खजानाहरु तयार पारीए । उनिकोट्या सहितको ठुलो दलबल देवी, उनका भाई र गाईलाई पक्रेर ल्याउन अगाडी बढयो । उनिकोट्या घोडामा चढेको थियो । उस्का पछाडी ठुलै जत्था हिड्यो । साथमा भोट्या कुकुरहरु पनि थिए । लकान्द्रको भिमपाईला हुँदै उनिकोट्याको शिकारी लस्कर अगाडी बढ्यो । खणीतोला बाट उस्को लस्क्र डुप्कातिर लागे पछि देविले  उनिहरु कुबिचार राखी त्यहाँ आउन लागेको कुरा चाल पाईन । उनले भाईलाई पनि सतर्क गराईन । 
 उनिकोट्याको शिकारी लस्कर देविको कुटीको आँगनमै ओर्लियो । उस्का मानिसहरुले देविको कुटी घेरे । उनिकोट्याले आँगन बाट कुटी भित्र को छ बाहिर निस्कन भन्यो । उस्को रवाफिलो र कुटील आवाज सुनेर देविले आफ्नो स्वरुप बदलिन । उनको अनुहार मुजैमुजाले भरीएको बृद्दाको अनुहारमा परिणत भयो । उनले आफुलाई बृद्द र बिरुप स्वरुपमा बदलिन । आँगनमा आएर को हौ किन बोलाएको भनेर सोधिन । उनलाई देखेर उनिकोट्याले हिजो उस्का मानिसहरुले देखेकी युवतीलाई बोलाउन भन्यो । उस्का कुरा सुनेर देविले त्यहाँ कुनै युवती नरहेको र हिजो उस्का मानिसहरुले देखेको मानिस मै हुँ भनेर भनिन ।
    उनका कुरा सुनी सके पछि उनीकोट्याले आफुलाई तीर्खा लागेकाले पानी दिन भन्यो । यसपछि देवी कुटी भित्र गईन र भाईलाई एकछिन पछि बाहिर गएर सुटुक्क गाई लाई बन्धन मुक्क्त गर्न र त्यस पछि आफु संगै सिधै तल तीर कुद्दै गएर गाणपारी भाग्नु भनिन । उनले एक अम्खोरा पानी लिएर उनिकोट्या लाई दिईन । उसले त्यो पानी दुई घुट्का पियो र बाँकी पानी कुल्ला गर्दै देविको मुखमा थुकीदियो । उनीकोट्याले कुल्ला गरी देविको मुखमा थुके पछि देविको अनुहार निकै चम्कीलो र भर्भराउदो देखीयो । उनको अनुहारको वरीपरी चम्कीलो घेरा थियो । अनुहारमा निकै रातो र धपधप बलेको आभा चम्किरहेको थियो । यो दृश्य देखेर सबैले एकापसमा हेराहेर गरीरहे । यत्तिकैमा उनिकोट्याले आप्mना मानीसहरुलाई देविलाई समात भनेर आदेश दियो ।
  देवि हत्तपत्त कुटी भित्र पसिन । उनले एउटा सानो सन्दुकलाई कपडाले छोपेर काखीमा च्यापिन । भाईले गाईलाई बन्धन मुक्त गरी सकेका थिए । उनले भाईलाई आफु संगै भाग्न ईसारा गरीन । कुटी बाट बाहिर आउने बित्तिकै अगाडी अगाडी देवी पछाडी पछाडी उनका भाई सिधै तलतिर भागे । उनिहरुका पछाडी उनीकोट्याको लस्कर लाग्यो । बिजुलीको गतिमा देविका दिदीभाई कुदे । उनिहरुलाई पछ्याउदै उनिकोट्याका मानिस र कुकुरहरु पनि कुदिरहे । देवीका दिदिभाई गाण तरेर पारी लागे । दिदी अगाडी बढिन । भाई अलिकति अल्झिए । गाण पारीको पाँच्चौरा नजिक उनिकोट्याको कुकुरले भाईलाई झम्टियो । आत्तिएर चिच्याउदै उनले दिदी मलाई समात्यो भने । दिदीले पछाडी फर्केर हेरीन उनीहरुले उनका भाईलाई पक्रिनै आँटेका थिए । उनले भाईलाई जोरले चिच्याउदै ‘फाट धर्ति फाट’ भनेर भन्न भनिन । भाईले पनि दिदीले भने जस्तै गरी ‘फाट धर्ति फाट’ भने । एकाएक उनले टेकेको जमिनमा ठुलो धाँजा फाट्यो । दिदीले भाईलाई त्यही भित्र पस्न भनिन । भाई धाँजाभित्र पसे धर्ति पहिलेकै जस्तो भयो । उनिकोट्याका मानिस र कुकुरहरु हेरेको हेर्यई भए ।
 धर्ति फाटेर देविका भाई अलप भएको पाँच्चौराको त्यो गणामा त्यो बेला देखी ती देविका भाईलाई गोठमष्टोका रुपमा पुजा गर्ने चलन रहेको छ । हरेक बर्षको भाद्र कृष्णपक्षको पंचमीका दिन आग्रवासीहरुले र कृष्णजन्माष्टमीका दिन छडाथानवासीहरुले यिनको पुजा आराधना गर्दछन । यि गाउँहरुका गाईभैसीको धनी भनेर गोठमष्टालाई भन्ने गरिन्छ । यो देवताको थानमा दुध चढाउनुका साथै पाठाको वली समेत दिने चलन छ । आफुले पालेका गाईभैसी लगायतका पशुधनहरु बाट श्रीबृद्दि होस भन्ने कामना गर्दै यिनको पुजा गरिन्छ । 
  अव देविका भाई धर्ति पसे पछि उनका पछि लागेकाहरु  सबैजना देवी लाई पक्रन उनको पछि लागे । देवि खेत पार गरेर उकालो लागी सकेकी थिईन । भाईलाई सुरक्षित पार्न अल्मलिएका बेला उनिकोट्याका केही मानिस र केही कुकुर उनको नजिक पुगी सकेका थिए । भाग्ने क्रममा देवीले काखमा च्यापेको सन्दुक छोपेको कपडा सन्दुक बाट अलग भई सकेको थियो । देवीको काखमा चमचम चम्केको सन्दुक सुनको भएको र त्यो भित्र देविका बहुमुल्य आभुषण रहेको कुरा देविका नजिक पुगेका शिकारीहरुले चाल पाईसकेका थिए । अव उनिहरु देवीलाई पक्रने भन्दा पनि उनले बोकेको सुनको सन्दुक जिप्ट्याउने दाउमा लागे । 
  उनिहरुले देविलाई घेराबन्दी गरेर उनका साथ रहेको सन्दुक खोस्न थाले । सन्दुक तानातान भयो । तानातानका क्रममा देवीका हात बाट त्यो सन्दुक खसेर ओरालोमा गुडुल्किदै तलतल गयो । यो देखेर ती शिकारीहरु सन्दुकको पछि पछि कुदे । देविले गुड्दै तलतिर गईरहेको सन्दुक र त्यसका पछि पछि कुदेका शिकारीहरुलाई हेरीरहिन । देविका भाई धर्ति भित्र पसेको अलि वरको गणामा त्यो सन्दुक थामीयो । एउटा शिकारीले त्यो सन्दुक हातमा लियो । यो देख्ने बित्तिकै देविले जोडजोडले ‘ढुङ्गीजा’ भनिन । देविले ढुङ्गीजा भन्ने बित्तिकै हातमा चमचमाईरहेको सुनको सन्दुक ढुङ्गामा परिणत भयो । यो देखेर रिसले मुमुरिएको शिकारीले त्यो सन्दुक लाई भुँईमा फाल्यो र आफु संग रहेको बन्चरोले त्यो सन्दुक लाई हान्यो । एक छेउमा बन्चराले काटीएको जस्तो देखीने सन्दुक आकारको ढुङ्गा पाँच्चौराको एउटा गणामा अझै पनि रहेको छ । यसलाई अहिले पनि श्रद्घाका साथ देउतीको सन्दुक भनेर भनिन्छ ।
 भाई धर्ति पसे । पेटारो ढुङ्गीयो । गाई कता छुटीन । अब देवी एक्लै भईन । उनका पाईला त्यो भिरमा सिधै अगाडी बढ्दै थिए । शिकारीहरु तल बाट उनलाई पछ्याउदै आईरहेका थिए । एक्कासी गाण पारीको समानान्तर उचाई बाट उनको कामधेनु गाईले निरिह र पिडा मिश्रित आवाजमा हम्माआँ हम्माआँ गरिन । देवि र उनका भाई कुटी बाट तल कुदे पछी उनको गाईलाई केही शिकारीहरुले कुटीको दाँयातर्फ माथी माथी तिर लखेटे । गाईलाई यतातिर बाट धपाउदै लगियो भने उनिकोट्याको दरबारतिर लिन सजिलो पर्दथ्यो । गाई उनिहरुले खेदेको ठाउँतर्फ जान मानिरहेकी थिईनन । उनिहरु एकोहोरो धपाईरहेका थिए । गाईले पछाडी फर्केर हेरीन । उनले न त देवीलाई देखीन न त उनलाई स्याहार सुसार गर्ने देविको भाईलाई । उनका पछाडी उनलाई लखेटने शिकारीहरु र लगालग जाईलाग्ने कुकुरहरु मात्र थिए । उनिहरुको लगातारको खेदाई र यातना बाट लखतरान भएकी गाईले आफ्नो बचाउ र सहायताका लागी आवाज निकालेकी थिईन । 
   आफ्नी प्रिय कामधेनु गाईको पिडा मिश्रित आवाज सुने पछि देविलाई पनि साह्रै पिडा बोध भयो । उनले गाणपारी गाईको आवाज आएको ठाउँ तर्फ हेरीन । उनले पारीको बाक्लो जंगलको उकालो पखेरोमा शिकारीहरुले गाईलाई खेदीरहेको देखीन । गाई उकालोमा अगाडी बढन मानीरहेकी थिईनन । शिकारीले लठ्ठिले जोर जोरले हानीरहेका थिए । गाईलाई निकै पिडा भयो । गाईले फेरी हम्माआँ हम्माआँ गरेर आवाज निकाल्न थालिन । देविका आँखा बाट बर्बर आँशु झर्न थाले । उनले निकै गह्रुङ्गो मनले ठुलो आवाज निकाल्दै ती गाईलाई ‘पणा पस पणा पस’ (ढुङ्गा भित्र पस ढुङ्गा भित्र पस) भनिन । देवीको यो आवाज सुन्ने बित्तिकै ती गाई त्यही नजिक रहेको पखेरोको चट्टानी ओडारमा पसिन । ओडारमा पस्ने बित्तिकै ती गाई त्यही ढुङ्गिईन (ढुङ्गाको भईन) । 
  यसरी पणा (ढुङ्गा) भित्र पसेकी ती कैलु गाई लाई त्यो बेला देखी धौला पणा माईका नाममा हरेक बर्षको श्रावण शुक्ल चतुर्दशीका दिन ज्वार्ने (पुजा गर्ने) गरिन्छ । छडाथानको सिधै माथीको पखेरोमा रहेको देविको धौलुगाई पणा पसेको यो गुफा निकै अलौकिक छ । यो गुफाको मुख सानो भए पनि भित्री भाग फैलिएको छ । गुफाको दलानमा गाईको कल्चौडो र थुनका आकृतीहरु छन । यि थुनहरु बाट लगातार सेतो रङ्गको दुध जस्तै तरल पदार्थ थुनको सिधै तल रहेको गर्भगृहमा झर्दछ । गुफाभित्र अरु धेरै देवीदेवताहरुका आकृती पनि रहेका छन । गुफाको दायाँतर्फ रहेको सानो चौरमा देविको मन्दिर रहेको छ । हरेक बर्षको श्रावण शुक्ल चतुर्दशीका दिन यि देविको मन्दिरको लिङ्गो फेर्ने चलन छ । यो ठाउँबाट बसाई सराई गरी टाढा टाढा गएकाहरु र विहेवारी गरी अन्यत्र गएका छोरीचेलीहरु समेत यो पर्वका बेला यि देवी लाई ज्वार्न यहाँ आउदछन । त्रयोदशीको रात मन्दीर परिसरमा धुनी जगाएर रातभरी जाग्राम बसी देवीको महिमा गाउदै उपासना गर्दछन ।
    भोली पल्ट गुफाको बाँया तर्फ रहेको खोला किनारको बासुधारामा स्नान गरी गुफा भित्र हवन पुजा गरी यि माईलाई ज्वारिन्छ । यि देवीलाई भक्क्तजनहरुले चाँदीको मुर्ति, छत्र, बिद्याथीहरुले चाँदी कै कलम र किताब  चढाउने गर्दछन । गर्भगृहमा देविलाई चढाउन ल्याईएका सामाग्रीहरु र दुध तथा फुल प्रसादहरु अर्पण गर्ने गरिन्छ । घरबाट बनाएर ल्याएको चोखो नैबेद्य पनि देविलाई चढाउने गरिन्छ । गुफा भित्र रहेको गर्भगृह पनि निकै अलौकि छ । यो गर्भगृह भित्र पनि देविको मुर्ति रहेको थियो । अहिले पनि हुनु पर्दछ । गुफाको सतहभन्दा निकै तल गहिराईमा रहेको गर्भगृहमा पुजारी ब्राम्हणले गएर दियो र धुपबत्ति जलाउने गर्दछन । गुफाभित्र ब्राम्हणले बैदिक बिधिले देविको हवन र पुजा गरी सबै भक्क्तजनहरुलाई अभिषेक गर्दछन । रातभरी र भोली पल्ट देविको लिङ्गो फेरी सकेपछि मन्दिर को प्राङ्गणमा धमारी खेलीन्छ । यही वरपरको बनको सबैभन्दा ठुलो रुखलाई देविको लिङ्गो बनाईन्छ । होस्टेमा हैसे गर्दै धेरै मानिसहरुले बनबाट सामुहिक रुपमा मिलेर यो लिङ्गो ल्याउछन । मन्दिर परिसरमा ल्याएपछि ब्राम्हणले बिधिपुर्वक पुजा गरेपछि भक्तजनहरु आ­आफुले ल्याएका सेता, राता र पँहेला नेजा बनाउने पुरै थान कपडाले यो लिङ्गोलाई मोणछन (बेरर्छन) । लिङ्गाको फिकार्मा (टुप्पा) लामा लामा नेजाहरु झुण्ड्याईन्छन । यि नेजाका तलतीरको छेउमा अक्षता, फुल र पैसा समेत बाँधेर राखीएको हुन्छ । विधिपुर्वक पुजा गर्दै निकै तमुल ध्वनीले त्यहाँ उपस्थित सबैले देवीको जयजयकार मनाउदै टाँगो  ( लिङ्गो) ठड्याईन्छ । टाँगो ठड्याईसके पछि पुजारीले माईलाई चढाउन ल्याएका केरा, बेलौती, सुन्तला, अमीला लगायतका फलफुल, मकै र सिक्काहरु आकाशतर्फ लिङ्गामा चढाउछन । यसरी अर्पण गरिएका फलफुल र पैसाहरु भुईमा झरेपछि भक्तजनहरु आफुले पाउन त्यो चौरमा हारालुछ गर्दछन । यसमा जसेले जे पायो सोही अनुरुपको बरदान मिल्ने बिश्वास गरिन्छ । यो मन्दिर मा दलित जातका मानिसहरु जाँदैनन । उनिहरु त्यहाँ जाने अरु जातका मानिसहरु संग आफ्नो फुल प्रसाद देविलाई पठाउदछन । त्यसै गरी यि देविका पुजारी गर्ग गोत्रीय आचार्य ब्राम्हणहरुका परिवार का मानिसहरु यि देविलाई हरितालीका तिजका दिन ज्वारर्न आउछन ।
 भाई धर्ति पसे । सम्पतिको सन्दुस ढुङ्गियो । गाई पणा पसिन । अब देवि नितान्त एक्ली भईन । उनका पछाडी शिकारीहरु कुदीरहेका थिए । कुकुरहरु झम्टन आईपुग्नै लागेका थिईन । एक्ली र हतास देवि एकतमासले उकालो चढ्दै दुई ठुला चट्टान एकापसमा दुवारका (ढोका) खापा मिले जस्तै भिण (भिर) नजिक पुगिन । त्यो चट्टानको दुवार (ढोका ) नजिक पुग्नै लाग्दा शिकारीहरुले उनलाई  झम्टे । देबिले हत्तपत्त ‘उग्रिजा दुवार उग्रिजा’ (खुल ढोका खुल) भनिन । एकाएक त्यो चट्टानी पहरोमा रहेको ढुङ्गाको ढोका खुल्यो । देबि ढोका भित्र पस्ने बित्तिकै ठुलो आवाजका साथ ढोका बन्द भयो । उनिकोट्याका शिकारीहरु हेरेको हेरेई भए । कुकुरहरु त्यो ढुङ्गाको ढोकामा हेरेर कुकाउन थाले । त्यो बेला देखी ती देवी त्यो ढोका भित्र छन भन्ने मान्यता रहेको छ । यो निकै अफ्ठेरो भिरमा रहेकाले त्यहाँ सजिलै कोही जान सक्दैन । यो भिर को सिधै तल जुम्लीसालमा रहेको सानो चौरमा यि देविको थान (देवत्थान) रहेको छ । शायद माथी भिरमा गएर यि देवीको पुजाआजा गर्न नसकिने भएकाले नै यो थान यहाँ बनाईएको हुनु पर्दछ । 
   हरेक बर्षको श्रावण शुक्लपक्षको त्रयोदशीको दिन यि देविको यो देवत्थान (देविको थान) मा पुजा हुन्छ । यो थानमा आग्रका मानिसहरुले पुजाआजा गर्दछन । गाण पारी देविको कुटी रहेको ठाउँमा रहेको यि देविको थानमा पनि सोही दिनमा पुजाआजा हुन्छ । छडाथानवासीहरुले पुजा गर्दछन । त्यसै गरी त्रिपन्नी भन्दा उत्तर तिर रहेका ठुुल्छणी झरनाको दाँयातर्फको पखेरामा अर्को अलौकिक गुफा रहेको छ । यो गुफा मुखीया जोरा सिंह शाहीले पत्ता लगाएका हुन । यो गुफालाई फेदाको गुफा भनेर भन्दछन । यो गुफामा पनि यिनै देविलाई सोही तिथिमा मुखीया जोरा सिंह शाहीका सन्तानहरुले पुजा गर्दछन । जुम्लीसाल, फेदा र डुप्का मा रहेका थानहरुमा श्रावण शुक्ल त्रयोदशीका दिन दिउसो पुजा गरी सकेर केही मानिसहरु त्यही बाट धौलापडा जान्छन । रातभर धुनी जगाएर धौलापडा माईको महातम्य गाउँछन र भोलीपल्ट चतुर्दशीका दिन त्यहाँ धौलापडा माई ज्वारीन्छन । धौलापडा माई ज्वार्रन तीनतोलीको तोलीपाटा र जैसीगाउँ बाहेकका गाउँहरु र लकान्द्र तथा लयाँटीबिन्द्रासैनी तीरका मानिससहरु समेत आउँछन् । 

(लेखक कर्णालीको लोक संस्कृती, परम्परा र जनजीवनका अध्यता हुन । यो आलेख उनको प्रकाशोन्मुख “दैलेख आठबिसका तिलषीबम्म सन्ततीहरुको जडीपल्लवी’’ मा समावेश छ ।”

प्रतिक्रिया