'हाम्रा पूर्खा सकिएपछि हामी पनि स्कुल पढ्न आउँछौँ'

भन्छन् : अहिले हाम्रा पूर्खाले स्कुल आउन दिदैन

'हाम्रा पूर्खा सकिएपछि हामी पनि स्कुल पढ्न आउँछौँ'


काठमाडौँ - दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे कर्णाली प्रदेश तथा आसपासका प्रदेशका जिल्लाहरुमा घुमन्ते फिरन्ते जीवन बिताउने जाति हो । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मान्यता थिए, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने । राउटे समुदाय पछिल्लो समय परम्परागत मान्यताबाट पछि हट्दै गएको छ  । राउटे समुदायका बालबालिका अक्षर चिन्न थालेका छन् । पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय अहिले सरकारबाट सामाजिक सुरक्षा भत्ता समेत बुझ्ने गर्छन  ।

लेखपढ नगर्ने राउटे समुदायका बालबालिकाहरु शुक्रवार शैक्षिक भ्रमणमा विद्यालय पुगेका छन्  । दैलेखको गुराँस गाउँपालिका १ मैनीखोला नजिक बस्दै आएका राउटे समुदायका बालबालिका शुक्रवार गुराँस गाउँपालिकाको एक विद्यालयमा शैक्षिक भ्रमणमा पुगेका छन्  । गुराँस गाउँपालिका १ स्थित शारदा आधारभूत विद्यालयमा शैक्षिक भ्रमणमा पुगेको सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत लाल बहादुर खत्रीले बताउँनुभयो  । 

उनका अनुसार राउटे समुदायका अगुवाहरुको सल्लाह अनुसार राउटे बालबालिकाले विद्यालयमा शैक्षिक भ्रमण गरेका हुन् । राउटे बालबालिकालाई शैक्षिक भ्रमणमा विद्यालयमा लैजाने योजना दुइदिन अघिबाट गरेका थियौँ,’खत्रीले भन्नुभयोे, ‘शैक्षिक भ्रमणको लागि समुदायका अन्य व्यक्तिहरुले लैजान दिन सहमत भएपनि समुदायका वृद्ध महिलाहरुको अवरोधका कारण असफल भयौँ । फेरी समुदायका राउटे मुखिया र राउटे महिलाहरु बस्तिमा परिचालन गरेर उहाँहरुले सम्झाईबुझाई गरेपछि शैक्षिक भ्रमणमा लैजान दिन सहमत हुनुभएको थियो ।’

राउटे बस्तिबाट शैक्षिक भ्रमणमा विद्यालयमा आएपछि रमाइलो लागेको राउटे समुदायका १७ वर्षिय नविन शाही बताउँनुहुन्छ   । शैक्षिक भ्रमणमा हामी यहाँ आएपछि हामी खुशी र उत्साहित छौँ,’उहाँले भन्नुभयो, ‘ हाम्रो पनि विद्याल पढ्ने इच्छा छ तर, हाम्रो पूर्खाले मान्दैन । हाम्रो पुर्खा सकिएपछि हामी पनि यसरि नै स्कुल पढ्न आउँछौँ ।’

विद्यालयको शैक्षिक भ्रमणमा समुदायका २० जना बालबालिका पुगेका थिए । आफुहरु यहाँ आएपछि रमाइलोसँगै पढ्ने इच्छा लागेको अर्का १३ वर्षका रपिल शाहीले बताउनुभयो  । विद्यालयमा रमाइलो हुँदो रहेछ । रमाइलोसँगै रमाइलो गरि पढ्न पाइने पनि रहेछ,’उहाँ भन्न्नुहुन्छ, ‘यहाँ पढ्न हाम्रो पुर्खाले मान्दैन । स्कुल नआए पनि हामी बस्तिमै पढ्छौँ बस्तिमै पढाउनुस है लाल बहादुर सर ! ।’

शैक्षिक भ्रमणमा पुगेका राउटे बालबालिकाले विद्यालयमा पढ्न पूर्खाले अनुमति नदिए पनि आफुहरुलाई बस्तिमै पढाउन राउटे समुदायमा संचालित राउटे परियोजनामा जोडी शिक्षकका रुपमा कार्यरत रहेका लाल बहादुर खत्रीलाई विद्यालयमै अनुरोध गरेका थिए । 

राउटे बालबालिकाको पढ्ने इच्छा छ भने पढ्न दिनुपर्ने राउटे समुदायका मुखिया सुर्य नारायण शाही बताउँनुहुन्छ  । राउटे बालबालिकाको पढ्ने इच्चा भए पढ्न दिनुपर्छ,’उहाँले भन्नुभयोे, ‘पुरानो पुस्ताले बुझ्दैन । हाम्रा पूर्खाले पनि पढेन भन्दै पढ्न दिदैन । बिस्तारै परिर्वतन हुँदै गएका छन् । एक दिन राउटे बालबालिका पनि विद्यालय जानेछन् ।’

राउटे समुदायका बालबालिकालाई शैक्षिक भ्रमणमा पठाउनका लागि आफु सहमत भएसँगै राउटे समुदायका मुखिया सुर्यनारायण शाही, दिलबहादुर र विरबहादुर शाही,  गाजली शाही, सुरमान शाही, र मया शाहीले बस्तिका अन्य वृद्ध महिलाहरुलाई शैक्षिक भ्रमणमा पठाउनका लागि मनाउनुभएको थियो  । 

राउटे समुदायका बालबालिका शैक्षिक भ्रमण र विद्यालयमा पहिलोपटक प्रवेश गरेको राउटे समुदायमा जोडि शिक्षकका रुपमा कार्यरत लाल बहादुर खत्रीले बताउनुभयो  । यसरी शैक्षिक भ्रमणमा राउटे समुदायका बालबालिकाहरु पहिले कहिलेही विद्यालय प्रवेश गरेका थिएनन्,’उहाँले भन्नुभयोे, ‘विद्यालयमा उहाँहरु पहिलो पटक पुग्नुभएको हो ।

विद्यालय प्रवेश पश्चात् उहाँहरुले विद्यालयका प्रत्येक कक्षामा गएर घुलमिल हुनुभएको थियो । कक्षाका अन्य बालबालिकासँगै राउटे समुदायका बालबालिकाले पनि सेतोपाटी बोर्डमा (कखरा) लेख्ने र पढ्ने गर्नुभएको थियो ।’

समुदायका बालबालिकाहरु शैक्षिक भ्रमणका क्रममा विद्यालयमा आएपछि पढ्ने कुरामा उत्साहित भएको आफुले देखेको शारदा आधारभूत विद्यालयका शिक्षक झुपाराम खड्का बताउँनुहुन्छ  । समुदायका बालबालिका यहाँ आएपछि बालबालिकामा विद्यालय विद्यालय र पढ्ने कुरामा उत्साहित भएको पाएँ,’उहाँ भन्नुहुन्छ, ‘बालबालिका उत्साहित छन् तर, अभिभावक विद्यालय पठाउन सहमत नहुँदा राउटे बालबालिका विद्यालय आउँन पाउँदैनन् ।’

प्रतिक्रिया