पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र

पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र

गोदावरी - कृषि ज्ञान केन्द्रले व्यावसायिक कृषि प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । 

केन्द्र्रले गत आव २०८०÷८१ मा जिल्लामा रहेका एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरेको हो । कृषि यान्त्रिकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभइ व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले जिलाका किसानलाई कृषियन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्र्रका सूचना अधिकारी श्याम जोशीले बताउनुभयो । 

ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरिएको उहाँले बताउनुभयोे । गत आर्थिक वर्षमा मिनी ट्रेलर ४८, मोटर ६८, रिपर २६, हैरो १२, कल्टीभेटर दुई, बताउने पङ्खा दुई र भ्याज ह्वील दुई किसानलाई कृषियन्त्र वितरण गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । 

सो कार्यक्रमका लागि गत आवमा रु ५० लाख बजेट विनियोजन गरिएकामा रु ४४ लाखका कृषियन्त्र खरिद गरी किसानलाई वितरण गरिएको जोशीले जानकारी  दिनुभयो ।

किसानलाई वितरण गरेको कृषियन्त्रले खेती गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अनुदानमा कृषियन्त्र पाएपछि खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सकिने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा परिवर्तन आउने उहाँको भनाइ छ ।

 अनुदानका कार्यक्रमले धान, गहुँ, तरकारीको क्षेत्रफल बढ्नुका साथै उत्पादनमा समेत वृद्धि भइरहेको ज्ञान केन्द्र्रको तथ्याङ्कले देखाएको छ ।  ज्ञान केन्द्र्रले किसानलाई कृषि गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको छ । अनुदान पाउनका लागि निवेदन दिएका किसानमध्ये अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसानलाई छनोट गरेर कृषियन्त्र उपलब्ध गराइएको ज्ञान केन्द्र्रले जनाएको छ ।  

ज्ञान केन्दले जिल्लामा किसानको मागका आधारमा परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी अनुदानका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कृषिको व्यावसायिक खेतीका लागि समूह र सहकारीमा आबद्ध किसानलाई अनुदानका कार्यक्रममा समावेश गरिएको ज्ञान केन्दले जनाएको छ ।

ज्ञान केन्दले बृहत विशेष कृषि विकास कार्यक्रमअन्तर्गत आलु प्रवद्र्धन कार्यक्रम, रैथाने बाली संरक्षण, बेमौसमी तरकारीखेती, च्याउखेती, चैते धान लगायतका अन्य कृषि कार्यक्रम सञ्चालन गर्दै जनाएको छ । 

प्रतिक्रिया