तीन अर्ब ५० करोड लगानीमा, तीनवर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याईदै

तीन अर्ब ५० करोड लगानीमा, तीनवर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याईदै

दैलेख - कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी  तीनवर्ष भित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याईने  भएको छ । तीन अर्ब ५० करोड आठ लाख १५ हजार दुई सय ८० रुपैयाँ ६१ पैसा लगानी गरेर लिप्टिङ्ग मार्फत भेरीको पानी विरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको हो । 
 गएको बुधबार आयोजना इकाईका प्रमुख सन्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडका प्रतिनिधि सुशिलकुमार श्रेष्ठबिच निर्माण सम्झौता भएको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र निर्माण व्यवसायीबिच निर्माण सम्झौता भएसँगै आयोजना बन्नेमा नगरबासी आशावादी बनेका छन् । 
नगरपालिकाकाको  ‘ड्रिम’ प्रोजेक्ट भेरी लिफ्टिङ खानेपानी आयोजनालाई लिएको छ ।   संघीयतापछि केन्द्र सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानी खर्च गरेर बनाई यो आयोजनाले दिर्घकालिन जनसंख्याको बृद्धिलाई समेत आँकलन गरि वनाउन थालिएको नगरपालिकाले जनाएको छ । ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायी मध्ये चिनियाँ कम्पनी छनौटमा परेको कार्यालयले भनाई छ । 
आगामी ३० बर्ष(सन् २०५०) सम्म वीरेन्द्रनगरमा बृद्धि हुनसक्ने जनसंख्याको आँकलन गरि दिर्घकालिन पिउने पानीको सहज आपुर्ति पु-याउने लक्ष्यका साथ आयोजना अगाडि सारिएको हो ।  ठूलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने हेतुले पुनः परामर्शको लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले पटक–पटक विज्ञहरूको राय मागेको थियो । दुई खण्डमा गरी ६ अर्ब रूपैयाँ लागतमा सम्पन्न हुने  आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तनबाहेक अन्य डिजाइन ठीक भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको हो ।
संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा चालु आर्थिक वर्ष २०८१/०८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर उपत्यकामा ल्याईने छ । 
संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जोहो गर्नुपर्ने छ । । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले साझेदारी कोष अन्तरगत प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा पाँच करोड रूपैयाँ विनियोजन गरेको छ, भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरिसकेको छ ।

दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाको पहिलो चरणका कामहरूमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब सात मिटर गहिरो दुई वटा इन्टेक निर्माण गरिनेछ । यस्तै पहिलो चरणकै काममा ट्याङ्कीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछ ।

यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३/३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । लिफ्ट प्रविधिमार्फत ल्याइने भेरीको पानी वीरेन्द्रनगर नगरपालिकामा वडा नम्बर १ देखि १३ सम्म वितरण गरिने छ । तीन वर्ष निर्माणको समायावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापनको जिम्मा निर्माण कम्पनीले लिनेछ । त्यसपछि  आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउनेछ ।
भेरी लिफ्ट खानेपानी आयोजना कार्यान्वयका क्रममा कुनै पनि समस्या आउन नदिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताईन । वीरेन्द्रनगरको मात्र नभई समग्र प्रदेशको चासोको  विषय भएकाले निर्माण व्यवसायीलाई नीतिगत तथा स्थानीयस्तरमा समस्या आउन दिने छैनौं,समयमै आयोजना सम्पन्न गर्नुहोला,ढकालले भनिन् ।  
 

प्रतिक्रिया