म काममा बिश्वास गर्छु : मन्त्री भण्डारी

म काममा बिश्वास गर्छु : मन्त्री भण्डारी

दैलेख – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जिल्ला सदरमुकामस्थित दैलेख अस्पताललाई साधन, श्रोत सम्पन्न बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । जिसस दैलेखले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

‘जिल्लाभरका विरामीको उपचार गर्ने अस्पतालमा साधन, श्रोत सम्पन्न र जनशक्ति व्यवस्थापन गरी प्रभावकारी उपचार हुनसक्ने अस्पतालको रुपमा विकास गर्नुपर्नेछ’ मन्त्री भण्डारीले भन्नुभयो । ‘म काममा विश्वास गर्छु काम गर्नेहरुलाई सहयोग रहनेछ’ उहाँले टिप्पणी गर्नुभयो । 

कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले ‘सामाजिक विकास मन्त्री भण्डारी प्रमुख अतिथि भएको कार्यक्रममा सामाजिक विकास कार्यालय दैलेख अनि सभाध्यक्ष जिसस प्रमुख नमराज शाहीको गृह नगर आठबीस नगरपालिकाले प्रगति समीक्षामा प्रस्तूत नगर्नू उहाँहरुको उपेक्षा हो’ टिप्पणी गर्नुभयो । 

‘हामी कति सजग छौं ? कति जिम्मेवार छौं ? भन्ने कुरा सामाजिक विकास कार्यालय र आठबीस नगरपालिकाको प्रगति समीक्षा प्रस्तूत नहुनुले प्रष्ट्याउछ’ प्रदेशसभाका सदस्य खत्रीलले भन्नुभयो । ‘विकास भन्ने कुरा यी कुराहरुले पनि अर्थ राख्छ’ उहाँले औंल्याउनुभयो । 

बुधबारदेखि सुरु भएको दुई दिने प्रगति समीक्षा कार्यक्रममा दैलेखका ११ पालिका मध्ये आठबीस बाहेक १० पालिका र विकासे अड्डाहरुले अघिल्लो आर्थिक वर्ष ०८०/८१ अवधिमा गरेका विकास गतिविधि विषयमा प्रस्तूती राखेका थिए । बिहीबार जिसस दैलेखको बैठक बस्ने कार्यसूची छ । 

प्रगति समीक्षा कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, नारायण नगरपालिकाको मेयर लोमन शर्मा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जू पाण्डे, जिविस पूर्व सभापति टेकबहादुर खाँणले विकास गतिविधिहरु दिगोपना, समस्या समाधानका लागि साझा पहल र भावी रणनीति विषयमा बोल्नुभएको थियो । 

त्यसबखत जिससले जिल्लाका उत्कृष्ट कार्यसम्पादन गरेका स्थानीय तहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको थियो । स्थानीय तह संस्थागत स्वमूल्यांकन (लिजा)का जिल्लाका उत्कृष्ट दुल्लू नगरपालिका, भगवतीमाई र डुंगेश्वर गाउँपालिकालाई सम्मानपत्र दिइएको छ । 

त्यसैगरी स्थानीय तह बित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)तर्फ भगवतीमाई, महाबु र डुंगेश्र गाउँपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय हासिल गरेकाहरु र स्थानीय आर्थिक विकास मूल्यांकन (लीड)को मूल्यांकन अनुसार प्रथम दुल्लू नगरपालिका, द्वितीय डुंगेश्वर र तृतीय गुराँस गाउँपालिकालाई प्रशंसापत्र दिइएको थियो । 


कार्यक्रममा देखिएका दृश्य 

  • कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी सहित १२ जना अतिथिहरु कार्यक्रमको मञ्चमा आसन ग्रहण गराउँदा एक जना पनि महिला थिएनन् ।
  • सामाजिक विकास मन्त्री भण्डारी प्रमुख अतिथि भएको कार्यक्रममा सामाजिक विकास कार्यालय दैलेख अनि सभाध्यक्ष जिसस प्रमुख नमराज शाहीको गृह नगर आठबीस नगरपालिकाले प्रगति प्रस्तूत सुनाएनन् ।
  • समापन कार्यक्रमका बोल्दै गर्दा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले मन्तव्य राख्दा ‘राष्ट्रिय योजना आयोगलाई पनि बोल्न दिनुभएकोमा धन्यवाद' भन्नुभएको थियो । आफै उपाध्यक्ष भएको प्रदेश योजना आयोगको नाम भन्न नजानेको भनी दर्शक दीर्घामा टिप्पणी भएको थियो । 

 


 

प्रतिक्रिया