रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

काठमाडौँ -   राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

शुन्य समयमा बोल्दै सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरु जस्तै डेंगी, झाडापखाला, सर्पदंश न्युनीकरण गर्नुपर्ने, शुद्ध खानेपानी, औषधी उपचारको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएर सहज वातावरण बनाउन आग्रह गर्नुभयो ।

सांसद गंगाकुमारी बेलवासेले पछिल्लो समय तीजका गीत र नाचमा विकृति विसङ्गति बढेको भन्दै त्यसको नियन्त्रणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । सांसद गोपीबहादुर सार्की अछामीले उदयपुरको कटारी नगरपालिका कोशी, मधेश र बागमती प्रदेशको केन्द्र पर्ने भएकाले प्रस्तावित मेडिकल कलेज स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरु गोपाल भट्टराई, जगप्रसाद शर्मा र तुलसाकुमारी दाहालले स्थानीय तथा राष्ट्रिय एवम् समसामयिक समस्या समाधानका लागि सरकारसँग माग गर्नुभयो । 

प्रतिक्रिया