प्रभावकारी सञ्चारमा दलित समुदायको भूमिका महत्वपूर्ण

प्रभावकारी सञ्चारमा दलित समुदायको भूमिका महत्वपूर्ण

दैलेख – राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष टेकेन्द्र बिश्वकर्माले प्रभावकारी सञ्चारको विकासका लागि दलित समुदायले सधैं महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । संघको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । 

पहिले कटुवाले भएर गरेको सञ्चार कर्म अचल गीतसंगीत र सूचना सञ्चार प्रविधिको उपयोग गरेर प्रभावकारी सञ्चार प्रवाह गरेको केन्द्रीय उपाध्यक्ष बिश्वकर्माले बताउनुभयो । दलित समुदायका पत्रकारहरुलाई संगठित गर्न र उनीहरुको क्षमता विकासमा काम गर्न संघको स्थापना भएको प्रष्ट्याउनुभयो । 

त्यसबखत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले जातीय विभेद, असमानता र शोषणबाट मुक्ति दिलाउन सशस्त्र जनयुद्धले योगदान गरेको बताउनुभयो । समावेशीता हटाउन तरखर भइरहेकोले बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा गर्न राष्ट्रिय दलित पत्रकार संघले अग्रसरता लिन आग्रह गर्नुभयो । 

कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्माले दलित समुदायले भोगिरहेको जातीय विभेद हटाउन गैरदलित समुदायको सहभागिता आवश्यक रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले विभेद, असमानता कमी भए पनि निर्मूल पार्न सबैको सहकार्यता आवश्यकता औल्याउनुभयो ।

संघका निवर्तमान अध्यक्ष पृथ बयलकाेटीकाे अधक्षमामा भएकाे कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य अमर सुनार, प्रेस यूनियनका जिल्ला सभापति अभिशेक सोनी, प्रेस चौतारीका जिल्ला अध्यक्ष पुस्कर थापा, अधिकारकर्मीहरु पदम सुनार, हर्कबहादुर नेपाली, स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका जिल्ला अध्यक्ष बखत नेपाली लगायतले दलित आन्दोलन र पत्रकारिता अन्तरसम्वन्ध विषयमा बोल्नुभएको थियो । 

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दैलेखको दोश्रो जिल्ला अधिवेशनबाट कृष्णबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन गरेको छ । कार्यसमितिका उपाध्यक्ष जगत सुनार, सचिव हिमेन्द्र बिक, कोषाध्यक्ष दिलकुमारी नेपाली चुनिनुभएको छ । 

जिल्ला कार्यसमितिका सदस्यहरु पम्फा परियार, ममता बिश्वकर्मा, अम्मर नेपाली र चित्रकला नेपालीसंगै कर्णाली प्रदेश दुई जना पार्षदहरु कलम नेपाली, कमला बिक, केन्द्रीय पार्षदहरु पदम सुनार र पृथ बयलकोटी चयन हुनुभएको छ । 
 

प्रतिक्रिया