गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सव हुने

गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सव हुने

जुम्ला -  जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवको आयोजना हुने भएको छ । गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउनका  लागि पालिकाले महोत्सव गर्न लागेको अध्यक्ष बुढाले बताउनुभयो । महोत्सवमा खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता पनि आयोजना गर्न लागिएको छ । 

निःशुल्क आँखा शिविर सञ्चालन हुँदै                         

जुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । चिकित्सक डा सन्दुक रुइतको उपस्थितिमा आँखा शिविर सञ्चालन हुनलागेको हो । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  आँखा विभाग र तिलगङ्गा आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा पुजन रोकायाले जानकारी दिनुभयो ।

यही भदौ १६ गते पातारासीको डिल्लीचौर स्वास्थ्यचौकी, १७ गते गुठीचौरको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्र, १९ गते तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्यचौकी लामाबगर र भदौ २० गते सिंजाको नराकोट स्वास्थ्यचौकीमा आँखा शिविर सञ्चालन हुने भएको छ ।

शिविरबाट छनोट भएका आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया आँखा चिकित्सक डा सन्दुक रुइतबाट प्रतिष्ठानमा गरिने अस्पतालका निर्देशक डा रोकायाले बताउनुभयो । प्रतिष्ठानमा आँखा विभागको उद्घाटनसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने प्रतिष्ठानका आँखा विभाग प्रमुख डा विश्व तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया