महासमिति बैठकमा पेस भएका प्रतिवेदन संशोधनसहित पारित

महासमिति बैठकमा पेस भएका प्रतिवेदन संशोधनसहित पारित

काठमाडौँ -   नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका सबै प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय कार्यसमितिले उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमा परिमार्जन गरी पारित गरेको हो । 

महामन्त्री थापाले पेस गरेको प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने विषय उल्लेख छ । कांग्रेसले एक्लै चुनाव लड्ने र कांग्रेसले रुख चुनाव चिह्नमै मतदान गर्नपाउने भनी उहाँको प्रस्ताव पारित गरिएको छ । थापाको पारित प्रस्तावमा भनिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने चुनावहरूमा आफ्नै ताकतमा एक्लै लड्नेछौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।’

महामन्त्री थापाको गठबन्धनबारे प्रस्ताव पारित भए पनि महाधिवेशनको कार्यतालिकाका विषयमा भने अमूर्त निर्णय भएको छ । विधानले निर्दिष्ट गरेअनुसार महाधिवेशन गर्ने प्रस्ताव पारित भएको छ । यो निर्णयले २०८२ मंसिरमा महाधिवेशन हुनेमा आशंका बढाएको छ । 

तर महाधिवेशनका लागि आवश्यक अन्य कामहरू गर्ने भन्ने निर्णय भएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरण अघि बढाउने निर्णय पनि भएको प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि जानकारी दिनुभयो  ।  ‘पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्न सक्ने परिस्थिति बनाउने गरी निर्णय गरिएको छ । विधानअनुसार १५ औं महाधिवेशन समयमै गर्ने गरी अघि बढ्ने भन्ने कुरा भएको छ’, उहाँले भन्नुभयो । 

महतका अनुसार महामन्त्री शर्माले पेस गरेको प्रस्तावको व्यक्ति बहिर्गमन व्यवस्थाबारे छलफल गर्दै जाने कुरा भएको छ। ‘एक्जिट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ, उहाँले भन्नुभयो  ।

प्रतिक्रिया