विकासले निम्त्याएको विनाश

१८ घर उच्च जोखिममा,बाढी पहिरोले १ सय ८० रोपनी खेतबारी बगायो

विकासले निम्त्याएको विनाश

  दैलेख -प्रशासनिक मार्गले चामुण्डाविन्द्रासैनी नगरपालिका–३ हाडाकोट बस्ती छोएर जाँदा जति खुशी थिए त्यहाँका नागरिक आज त्यहाँ भन्दा बढी दुखी छन् । गएको भदौं १३ गते राती परेको अविरल बर्षात सँगै सडकबाट आएको पानीको भल,लेदोले पाखोवारी र खेतवारी बगाई दिएपछि दुःखी बनेका हुन् ।


       प्रशासनिक मार्गमा सडक निर्माण सँगै नालीको उचित व्यवस्था नहुँदा किसानले लगाएको मकैबारी,खेतबारी खोला खोल्सा र वगरमा परिणत भएका छन् । पाक्नै लागेको मकै समेत बाढी बगाईदिएपछि के खाने भन्ने चिन्ताले पिरोल्ने गरेको चामुण्डाविन्द्रासैनी नगरपालिका –३ जंगलेका उदयबहादुर शाहीले बताए । उनले भने,‘यो पाली मैले खेतवारीमा राम्रो सँग मलप्रसो (कम्पोष्टमल) गरेको थिए । समयमा पानी राम्रो परेकाले खेतवारीले राम्रो उत्पादन दिने आश जागेको थियो ।  तर गएको विहिवार आएको बाढीले सपना उडाई दियो । शाहीको १० रोपनी खेतमा २ रोपनी मात्र खेतवारी बचेको छ ।’ मकै जंगली जनावरले खाएर सिध्याई सक्यो । खेतवारीले बाढी पहिरोले बगायो अब मैले ११ जना परिवार कसरी पाल्ने शाहीले दुखेसो पोखे । वडासरकार,पालिका र प्रदेश सरकारले छिटो राहतको व्यवस्था गर्नुपर्नेछ,उनले थपे । 


 
उदय मात्र होइनन् सोही ठाउँका हर्कबहादुर शाहीको पनि उस्तै पिडा छ । कुतियाँखोलामा ८ रोपनी जमिन बाढी पहिरोले बगाईदिएपछि छोराछोरी कसरी पाल्ने चिन्ता लाग्न थालेको बताए । यही खेतबाट हामी जहानपरिवार पालिएका थियौं । अहिले बाढी पहिरोले सखाप पारिदियो । कसरी जहान परिवार पाल्ने,पढाउने काम गरेर खानाको जोहो गरौं भने गाउँमा कतै पाईदैन । परिवार पाल्न मजदुरीका लागि मुग्लान बाहेक अर्को विकल्प नरहेको उनले बताए । हर्कबहादुर १० रोपनीखेतवारी बगाएर २ रोपनी मात्र बचेको छ । 

हाडाकोट बासीका अधिकाँश पाखो र खेतवारी खोला खोल्सा र वगरमा परिणत भएका छन् । हिडडुल गर्न गाह्रो छ । पशुचौपायालाई घरभन्दा यताउता चराउन र पानी खुवाउन लिने स्थिति नभएको निरकबहादुर शाहीले बताए । ‘अव्यस्थित नाली गर्दा किसानले लगाएका पाखो र खेतवारी मात्र बगाएको छैन । खानेपानी सिचाईकुलो समेत बगाएको छ । कैयौ घर जोखिममा छन् । यसको लागि स्थानीय सरकारले बाढी पहिरोको क्षतिविवरण संकलन गरि तत्काल राहत,स्वास्थ्य र रोजगारीका कार्यक्रम ल्याउनुपर्छ’ उनले भने । 
भिरालो जमिन,प्रशासनिक मार्गमा व्यवस्थित ढलको निकास नहुँदा केलाडीबस्ती नै पहिरोको चपेटा परेको वडाअध्यक्ष दिपबहादुर शाहीले बताए । प्रशासनिक मार्गमा काम गर्ने निर्माण कम्पनीलाई मैले पटक पटक नाली बनाएर ढल निकासा अनुरोध गरे । तर निर्माण कम्पनीले सुनुवाई गरिदिएन । गएको विहिवार अव्यविस्थत नाली गर्दा नै सडक पानी जाँदा किसानले खेतबारी,पाखो बारी गुमाउनुका साथै घरवार विहिन हुनुप¥यो । वडा सरकारले वाढी पहिरो पिडितको सर्जिमन मुचुल्का तयार गरि तत्काल राहत उपलब्ध गराउने थप राहतको लागि सरकारी एवं गैरसरकारी संस्थालाई अनुरोध गरे भने बाढी र पहिरोले पाखोवारी १ सय रोपनी र खेतवारी ८० रोपनी बगाएको जानकारी दिए । चामुण्डाविन्द्रासैनी नगरपालिकाको विपद शाखाले विपदका लागि आवश्यक सामाग्री खरिद गरिएको जनाएको छ । कुनै वडाले विपदका सामाग्री लगिसकेका छन् भने पहिरोले सडक अवरुद्ध हुँदा लिन बाँकी रहेको जनाएको छ ।  

१८ घर उच्च जोखिममा पिउने पानीको समस्या उस्तै 

बाढी पहिरोले किसान पाखो र खेतवारी बगाउनुका साथै गाउँको बिच भागबाट भल पसेपछि चामुण्डाविन्द्रासैनी नगरपालिका –३ केलाडी बस्तीका १८ घर उच्च जोखिममा परेका छन् भने ५ घर जोखिममा रहेको वडाकार्यालयले जनाएको छ ।
वडाअध्यक्ष दिपबहादुर शाही अनुसार वाढी पहिरोले सिचाईकुलो १० वटा,खानेपानीका मुहान ७ वटा,सिचाईकुलोको पुल, समेत बगाएको जानकारी दिए । पहिरोकै कारण हाडाकोट स्वास्थ्य चौकीको भवन समेत जोखिममा रहेको छ उनले थपे । 
पहिरोले पिउने पानीको मुहान र पाइप पहिरोले बगाइदिएपछि पिडित परिवारले पिउने पानीको समस्या भोक्नु परेको छ । पहिला घर आँगनमै पानी धारा थिए । पहिरोले बगाईदिएपछि टाढा टाढाको मुहानमा पानी लिन जानुपरेको अमरबहादुर कामीले बताए ।
 
“के गर्नु हजुर यतिबेला हामी बाँच्नु न मर्नु भएको छ । पहिरो गयो सबै सकियो, ठुला ढुंगा समेत खसे रातभर निन्द्रा लागेन, अब कुन दिन यहि घर पनि जान्छ आफन्तको काजकिरियामा बसेका अमरले दुखेसो पोखे । “ पहिरो त हजारौँ देखियो यस्तो त कहिल्यै भएन, सडकलाई पहिले पनि भन्यौँ कसैले सुनेन आज यो समस्या भयो, खानेपानीको मुहान समेत सकियो ,कसरी हुन्छ सरकार सँग खबर पुगोस उनले थपे ।”
 

प्रतिक्रिया