रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुम -   रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन् । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिनुभयो । फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । 

बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताउनुभयो । फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले रु १५ लाख अनुदान पाएका उहाँले जानकारी दिनुभयो । 

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् । 

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् ।

प्रतिक्रिया