प्रशासन कार्यालयका सवारी चालक चौधरी पुरस्कृत

प्रशासन कार्यालयका सवारी चालक चौधरी पुरस्कृत

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत कर्मचारीहरु मध्ये सर्वोत्कृष्ट काम गरेको भन्दै कार्यालयका सवारी चालक धनीराम चौधरीलाई पुस्कृत गरिएको छ । निजामती सेवा दिवस २०८१ को अवसरमा अघिल्लो आर्थिक वर्ष ०८०/८१ अवधिमा इमान्दारीपूर्वक काम गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

कार्यालयमा कार्यरत ६ महिला सहित १९ जना कर्मचारी मध्ये जिल्ला प्रशासन कार्यालय दैलेखमा २७ वर्षदेखि हलुवा सवारी चालक पदमा कार्यरत चौधरीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको कार्यालयको बैठकबाट चौधरीलाई पुस्कृत गरिएको सूचना अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

नगद पुरस्कार पाँच हजार र कदरपत्र सहित पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सबै कर्मचारी राम्रो काम गरिरहनुभएको छ, राम्रो मध्येको अतिराम्रोलाई पुस्कृत गरिएको बताउनुभयो । ‘एक वर्ष सर्वोत्कृष्ट कर्मचारी भनेर चौधरीजीको फोटो राखिन्छ, अर्को वर्ष अर्कोले पाउनुहुन्छ’ उहाँले भन्नुभयो । 

आफूले सेवा गरेको २७ वर्षमा पहिलो पटक पुरस्कार र कदरपत्र पाएको भन्दै पुस्कृत चौधरीले खुशी व्यक्त गर्नुभयो । निजामती सेवा दिवसको समन्वय गर्न जिल्ला प्रशासन कार्यालयकै जिम्मेवारी हुँदा पनि कार्यालयले आफ्नै कर्मचारीलाई पुरस्कृत गरिएको सम्भवत यो पहिलो पटक हो ।  

‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ मूल नारा रहेको यो वर्षको निजामती सेवा दिवस तीन दिने कार्यक्रममा दैलेखमा हिजो पहिलो दिन वृक्षारोपण कार्यक्रम, आज पालिकाहरुमा औपचारिक कार्यक्रम गरिएको र भोलि विहान प्रभातफेरी गरेर जिल्ला सदरमुकाममा अन्तरक्रिया कार्यक्रम राखिएको बताइएको छ ।  

तत्कालिन सरकारले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिनलाई स्मसरण गरेर हरेक भदौ २२ गते मनाउने गरिने निजामती सेवा दिवस मनाउन थालिएको हो । २०६२ देखि मनाउन थालिएको निजामती सेवा दिवस को शुरुवात भएको हो । 

प्रतिक्रिया