आत्महत्या रोकथाम सचेतना कार्यक्रम

अघिल्लो अघिल्लो वर्ष नेपालमा ७२२३ र दैलेखमा ५९ जनाले आत्महत्या गरेका

आत्महत्या रोकथाम सचेतना कार्यक्रम

दैलेख - आज सेप्टेम्बर १० अर्थात आत्महत्या विरुद्धको विश्व दिवस अवसरमा दैलेख सदरमुकाममा आत्महत्या रोकथाम र सचेतना फैलाउने विषयमा सचेतना कार्यक्रम गरिएको छ । बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले कार्यक्रम आयोजना गरेको हो ।  

आत्महत्याका जोखिम क्षेत्रमा सचेतना बढाउने, मानसिक समस्या भोगेका व्यक्तिहरुका कुरा सुन्ने, गोपनीयता कायम गर्ने, जीवनको सार्थकता बारे प्रोत्साहित गराउने, बिना पूर्वाग्रह आवश्यक सहयोग गर्ने र मानसिक समस्या जटिल अवस्थाका विरामीहरुलाई सेवा केन्द्रमा पठाउन सबैले सहयोग गर्ने छलफल केन्द्रित थियो । 

कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल, दैलेख जिल्ला अदालतका बाल मनोविज्ञ पत्रकार अमर सुनार, सोसेक नेपालको बाल हेल्पलाइनका संयोजक मनोविमर्शकर्ता रमा श्रेष्ठ, टीपीओ नेपालका मनोविमर्शकर्ता उर्मिला बीसी लगायतले आत्महत्याको बढ्दो समस्या र समाधान उपाय विषयमा बोल्नुभएको थियो ।  

सचेतना कार्यक्रमका सहभागीहरूले आत्महत्या राेकथामकाे निम्ति नीति र कार्यक्रम ल्याउन नारायण नगरपालिकाका मेयर लोमन शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । नेपाल गरिबी, अशिक्षा, अभाव लगायतका कारणले अघिल्लो वर्ष नेपालमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांक छ । दैलेखमा अघिल्लो अघिल्लो वर्ष ५९ जनाले आत्महत्या गरेका बताइएको छ ।  

परिवारजन, साथी, प्रेमी वा नजिकका व्यक्तिका कारण पनि व्यक्तिले आत्महत्या गर्नेसम्मको स्थिति आएको पाइएकोले सरकारले व्यक्तिले आत्महत्या गर्नुको कारक व्यक्तिलाई आत्महत्या दुरुत्साहन मुद्दा लगाउन सकिने कानूनी व्यवस्था गरिएको । आत्महत्या दुरुत्साहनमा एकदेखि पाँच वर्ष कैद हुनसक्ने कानूनी व्यवस्था छ । 

रोकथामका लागि अन्तर्राष्ट्रिय एसोसिएसन, आइएएसपीको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक वर्ष सेप्टेम्बर १० तारिकका दिवस मनाउने गरिएको छ । यो वर्षको नारा ‘आत्महत्या रोकथाम बारे सम्वाद सुरु गरौं, दृष्टिकोण बदलौं’ नारा रहेको थियो । 

प्रतिक्रिया