प्रयोगशालाको रिपोर्ट सच्याइदिने नाममा ठगी

प्रयोगशालाको रिपोर्ट सच्याइदिने नाममा ठगी ठगीको योजनाकार लोकबहादुर खाण र सहयाेगी विकास बीसी

दैलेख – साउन २५ गते शुक्रबारको दिन थियो, विहान कार्यालय खुलेको लगतै दैलेख कारागारका कार्यालय प्रमुख जेलर डिलु गिरीको मोवाइलमा घण्टी बज्यो । उनले कल रिसिभ गरे, फोन गर्ने मान्छे सुरुमै परिचय दियो ‘म प्रहरी म प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाण्डौंबाट प्राविधिक प्रहरी नायव निरीक्षक (सई) पूर्णबहादुर देउबा हो । प्रयोगशालाको रिपोर्ट बारे कुरा गर्र्नुछ, त्यहाँ बलात्कार घटनाका रिपोर्ट आउन बाँकीहरुसंग कुरा गराइदिनुस् है’ काम पनि बतायो । 

जेलर गिरीलाई कुरा ठीकै लाग्यो, त्यही कल निरन्तरता दिंदै दैलेख कारागारमा बलात्कार मुद्दाका थुनुवा खगेन्द्र अधिकारीलाई मोवाइल हातमा पारे । आफूलाई प्रहरीको सई बताउने त्यो व्यक्तिले खगेन्द्रसंग रिपोर्ट सच्याउन पर्ने र मुद्दा टुंग्याउने विषयमा कुरा गर्नुछ भनेर घरपरिवारका सदस्यको नम्बर दियो । खगेन्द्रले आमा तुलसी अधिकारीको मोवाइल बताइदिए ।

खगेन्द्रको आमासंग प्रहरीको सई बताउने त्यो व्यक्तिले तपाइँको छोराले बलात्कार नगरेको देखाउन रिपोर्ट नेगेटिभ देखाउन सकिन्छ तर त्यसका लागि ५८ हजार दुई सय ३५ रुपैंयाँ लाग्छ भन्यो । खगेन्द्रकी आमा तुलसी चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्नेचौतारीमा गाउँकै समूह बैठकमा भएको बेला त्यो व्यक्तिले जति छिटो पैंसा पठाउनुहुन्छ त्यही छिटो काम हुन्छ भनेरपछि त्यही बैठकका एक सहभागी केशवप्रसाद भट्टराईको मोवाइल बैंकिङ्गबाट रकम पठाए । 

दैलेख कारागारका जेलर गिरीसंग कुरा गरेको ३५ मीनेटभित्र प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाण्डौंबाट सई पूर्णबहादुर देउबा बताउने व्यक्तिले आफ्नो कार्यालयको लेखापाल भन्दै विकास बीसीको एनएमबी बैंकको ०९९०१८७८८३००००१६ नम्बरमा फोन पे अनलाइन प्रणालीबाट भुक्तानी पठाइसकेको १५ मीनेटपछि जेलर गिरीले खगेन्द्रकी आमा तुलसीलाई गरेर भने ‘कोही ठग मान्छेले पैंसा मागे जस्तो लागेको छ, पैंसा नपठाउनू ।’

जेलर गिरीले त्यो खबर गर्दा अनलाइन प्रणालीबाट रमक गइसकेको थियो । खगेन्द्रले घरमा खबर गरे लगैत त्यो विहान कारागारका विधि विज्ञान प्रयोगशालाको रिपोर्ट पर्खिरहेका खगेन्द्रले जस्तै १०–१२ जना जति थुनुवाहरुले घर परिवारलाई कल गरिसकेका खगेन्द्रको घरबाट रकम गइसकेको भन्ने थाहा पाएपछि चाहिँ घरमा कुरा गरेका सबैले अहिले रकम नपठाउनु भनी फेरि कल गरे, अरुहरुले चाहिँ रकम पठाउने तयारी रोकियो ।

रकम पठाइएको विषय र प्रसंग बारे खगेन्द्रकी आमा तुलसीले भन्नुभयो ‘पहिलो कलमा अलिअलि शंका लागेकै थियो, समूहको बैठकका सहभागीलाई पनि सोधें । गाउँले पनि छोरा छुट्छ भने त्यो पैंसा के हो र ? भने सबैले बैठककै सहभागी भैरबी गाउँपालिकामा कार्यरत पशु प्राविधिक मेरो भतिजा केशवप्रसाद भट्टराईको खाताबाट पठाएँ ।’ 

‘त्यो मान्छेले अत्यायो, गाउँमा बैठकका सहभागीले पनि पठाए हुन्छ भने हामीलाई फोन गरेको १५ मीनेट जतिमा मोवाइलबाटै रकम पठाइसकेपछि कारागारका हाकिमले त्यो मान्छे ठगी गर्ने किसिमको रैछ भन्नुभयो । हामीले चाहिएको बेला कुरा गर्न पाउदैनौं । जेलरले सिधै थुनुवालाई कुरा नगराएको भए हामी ठगिने थिएनौं’ तुलसीको टिप्पणी छ । 

यो घटना बारे तुलसीले प्रहरीमा उजुरी दिनुभयो, प्रहरीले खोजीतलासी गर्दा पत्ता लाग्यो प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाण्डौंको सई पूर्णबहादुर देउबा बताउने व्यक्ति बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुरको ३६ वर्षीय लोकबहादुर खाण र बैंक खातावाला २७ वर्षीय विकास बीसी चाहिं दैलेखको गुराँस गाउँपालिका–६ पिलाडीको व्यक्ति समेत मिलेर यो ठगी गरेका खुल्यो ।

ठगीको प्रमुख योजनाकार लोकबहादुर खाण र आफ्नो बैंक खातामा रकम पठाउन सहमति दिने विकास बीसीलाई दैलेख प्रहरीले ठगी मुद्दामा हिरासतमा राखेको छ । यो समूहले प्रयोगशालाको रिपोर्ट सच्याइदिने नाममा दैलेख लगायत १६ जिल्लाका १८ जना व्यक्तिबाट पाँच लाख छ हजार पाँच सय पैंतीस रुपैंयाँ ठगी गरिसकेको खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो । 

दैलेख लगायत जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ्ग, रोल्पा, सुर्खेत, उदयपुर, संखुवाससभा, दाङ्ग, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके समेत १६ जिल्लामा प्रयोगशालाको रिपोर्ट आवश्यक पर्ने विभिन्न मुद्दाका आरोपितहरुका  १८ जनाबाट यो समूहले रकम संकलन गरेको डीएसपी सुनिल दाहालले बताउनुभयो ।

 

राज्यकै कमजोरीले ठगी मौलायो 
बलात्कारको स्वास्थ्य परीक्षण स्वाव, नाता प्रमाणित घटनाको डीएनए र व्यक्तिहत्या घटनामा संकलित भिसेराको परीक्षण रिपोर्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाण्डौंले मात्र गर्छ, काम पनि ढिलाईले अदालतले मुद्दा फैसलामा प्रभाव परेको राज्यको कमजोरीमा खेलेर यो समूहले ठगी धन्दा सुरु गरेको पाइएको छ । प्रयोगशालाको रिपोर्ट छिटो छरितो गर्न जरुरी छ दैलेख बार एसोशिएसन अध्यक्ष ललित थापाले टिप्पणी गर्नुभयाे । 

मुलुकी अपराध सहिंता कार्यविधि ऐन २०७४ ले बलात्कार, हत्या लगायतका हिंसाका घटनाका मुद्दामा सिघ्र सुनुवाई प्रणाली अनुसार अदालतमा मुद्दा दर्ता भएको चार महिनाभित्र फैसला गरिसक्नुपर्ने भन्ने समयसीमा तोकिए पनि प्रयोगशालाको रिपार्टको अभावमा अदालतहरुले यो समयमा मुद्दा टुंग्याउन सकेका छैनन् । ‘समयमा रिपोर्ट आउन सकेको भए तोकिएकै समयमा फैसला हुनसक्थ्यो’ दैलेख जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले भन्नुभयो । 
 

प्रतिक्रिया