मानवको अधिकार पैरबीको सवाल बदलियो : गौतम

मानवको अधिकार पैरबीको सवाल बदलियो : गौतम

नेपालगञ्ज – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले बदलिंदो परिवेश अनुसार मानवको अधिकार पैरबी सवाल फेरबदल आएको उल्लेख गर्दै मानव अधिकार हनन् र ज्यादती घटनाहरुले तथ्यांक संकलन तथा अभिलेखीकरणमा जुट्न सुझाव दिनुभएको छ । 

कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरुका लागि नेपालगञ्जमा शुक्रबारदेखि सुरु भएको दुई दिने मानव अधिकार अभिलेखीकरण तालिमको शुभारम्भ कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । सशस्त्र युद्धकालको समयमा जीवन रक्षाको विषय प्रमुखता थियो । ‘अब आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार क्षेत्र विषयमा केन्द्रित गर्नुपर्ने स्थिति छ’ कार्यकारी निर्देशक गौतमले भन्नुभयो ।

 

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि इन्सेक जिल्ला प्रतिनिधिहरुले घटना अभिलेखीकरणका क्रममा भोगेका समस्या र समाधानका उपाय विषयमा छलफल गरिएको थियो । जिल्ला प्रतिनिधिहरुले घटना अभिलेखीकरणका क्रममा प्रहरी, अदालत सरोकारवालासंगको सहकार्यता, पीडितले राहत सहयोगको अपेक्षा गर्ने गरेको समस्या दर्शाएका थिए । 

संक्रमणकालिन न्याय सम्बन्धी कानून जारी भइसकेकोले सशस्त्र युद्धको समयका मृतक, बेपत्ता पारिएका व्यक्तिका परिवारजन, घाइते तथा पीडितहरुसंग इन्सेक जिल्ला प्रतिनिधिहरुको सम्पर्क तथा सूचना प्रवाह विषयमा यस पटकको तालिमलाई केन्द्रित गर्न लागिएको इन्सेक अनलाइनका सम्पादक एवं प्रलेख विभाग प्रमुख मदन पौडेलले बताउनुभयो । 

मानव अधिकार अभियानको कार्यदिशा विषयमा इन्सेक अध्यक्ष डा. कुन्दन अर्याल, वातावरण अधिकार विषयमा दिनेशराज भुजु, मानव अधिकार रक्षकको सुरक्षा सवालमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक जिल्ला प्रतिनिधिको भूमिका सवलीकरण विषयमा इन्सेक प्रदेश संयोजकहरु सुदूरपश्चिमका खडकराज जोशी, लुम्बिनीका भोला महत र कर्णालीका संयोजक नारायण सुवेदी समेतले सहजीकरण गर्ने बतइएको छ । 

प्रतिक्रिया