कानुन मन्त्रालयद्वारा कम्युटर हस्तान्तरण

कानुन मन्त्रालयद्वारा कम्युटर हस्तान्तरण फाइल तस्बिर

ललितपुर -   बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयले  उपत्यकाका तीन जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेशभित्रका विभिन्न ८  कारागार कार्यालयलाई खाना पकाउने विद्युतीययन्त्र, सिलाइ मेसिन र कम्युटर हस्तान्तरण गरेको छ । 

मन्त्रालयले अघिल्लो आर्थिक वर्षको बजेटबाट २५ किलो भन्दा बढी चामल एकै पटक विद्युतीययन्त्र पकाउन मिल्ने  (राइस स्टिमर), सिलाइ मेसिन र कम्युटर खरिद गरेको थियो ।  उपत्यकाका काठमाडौँ, ललितपुर र काठमाडौँ जिल्ला प्रहरी कार्यालय सहित नुवाकोट, सिन्धुली, रामेछाप, धादिङ, चितवन, रसुवा, मकवानपुर र सिन्धुपाल्चोकका कारागार कार्यालयलाई ती सामग्री हस्तान्तरण गरेको हो । 

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आज यहाँ आयोजित कार्यक्रम ती सामग्री सम्बन्धीत निकायलाई हस्तान्तरण गर्नुभयो । “कारागार व्यवस्थापन गर्ने जिम्मेवारी  सङ्घ र प्रदेशको संयुक्त जिम्मेवारीभित्र पर्छ, यसको सुधारका लागि निरीक्षण गरेर कार्ययोजना तय गर्ने सोच छ, आजका कैदी बन्दी सधैँ कैदी हुँदैनन्, उनीहरुलाई समाजमा घुलमिल हुनसक्ने अवस्था तयार गर्नुपर्छ, कारागार व्यवस्थापन प्रहरीसँग जोडिएको छ, यसका लागि सहकार्य गर्ने छौँ, नपुग सामग्री आगामी दिनमा व्यवस्थापन गरिनेछ ।” उहाँले भन्नुभयो ।

मन्त्री लामिछानेले सङ्घीय प्रहरी ऐन जारी नहुँदा सुरक्षा समन्वयमा असहज भएको बताउनुभयो । उहाँले भन्नुभयो ,“संविधान बनेको सात वर्षसम्म पनि सङ्घीय प्रहरी ऐन आउन नसक्दा समस्या भएको छ । समन्वयमा सहज हुन नसकेको अवस्था छ ।”

कारागार व्यवस्था विभागका महानिर्देशक अनुज भण्डारीले यो कार्यले संविधानले दिएको साझा अधिकारलाई कार्यान्वन गर्न सहज भएको जनाउँदै आगामी दिनमा कार्यक्रमका लागि बजेटको तयारी गर्दा नै समन्वय गर्न आग्रह गर्नुभयो । प्रदेश मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले कारागार व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको क्षेत्रभित्र परेकाले उक्त जिम्मेवारीलाई सम्बोधन गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय लागि परेको बताउनुभयो ।

प्रतिक्रिया