गाउँले एफएम दाईको,जीवनकथा

गाउँले एफएम दाईको,जीवनकथा

चामुण्डाविन्द्रासैनी(डौसुर) । बर्षदिन नहुँदै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ को नगेन्द्र खड्का ५० बर्षका भए । गाउँमै व्यवसायिक तरकारी खेतीबाट बार्षिक ५÷६ लाखसम्म आम्दानी गर्छन । खड्काले ६ रोपनी जमिनमा तरकारीखेती व्यवसाय गरेका छन् । छोरा सागरको नामबाट,फार्मको नाम दर्ता गरेका छन्, ‘सागर कृषि तथा पशुपंक्षी फार्म’ ।  
कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीत जस्तै भएको छ,खड्कालाई । गाउँका अधिकाँश पुरुष रोजगारीका लागि मुग्लान र खाडीमुलकमा गएपनि आफु गाउँमै तरकारी व्यवसाय गरेर आम्दानी गरेको बताउँन । उनले हाँस्दै भने,ती कलाकारले मेरा लागि गीत गाएका हुन हो क्या सर ।


पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर विक्रीका लागि जम्बुकाँध बजार धाउँछन् । बजारमा पाईला टेक्ने वित्तिकै भन्छन् ‘गाउँले एफएमदाईको,गाउँले तरकारी आयो है आयो ।’ आफ्नै बारीमा फलाएको,अर्गानिक तरकारी,किन्नुहोस भन्दै बजार–बजार डुल्दै चिच्याउँछन्, ठट्यौली शैलीमा । खड्काको तरकारीप्रतिको यो लगाव देखेर गाउँका अधिकाँश मानिसले सिको गर्न थालेको उनले बताए । सानै उमेरमा हिमाञ्चल गए,दुःख पाए । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किए तरकारी लगाए । म १४ बर्षकै उमेरमा देश (भारत) मजदुरी गर्न गएको हौं उनले खुलासा गरे । 


तर तीनै खड्का आजभोली गाउँकै अगुवा कृषक वनेका छन् । पहिला त मैले जहानपरिवारले खाने तरकारी फलाए । पछि विक्री हुन थालेपछि व्यावसायिक तरकारी खेतीतिर लागेको हौं,उनले थपे । हाँसेर कुरा गर्नु उनको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँध लगायत स्थानीय बजारका खुद्रा पसलमा उनले डोकोमा तरकारी बोकेर पु¥याउँछन् । ‘एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाह भयो, आफूले उब्जाएको तरकारी गरुङ्गो भएको पनि थाह नहुने रहेछ क्या !’ उनी भन्छन्, ‘बुढिया मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके यार । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !’ 
घरमा श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् ।  गाईवस्तुको मल बाहेक अन्य मल प्रयोग गर्देनन् ।  चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरि बसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्स पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा उनले तरकारी बेचेरै पढाएका  हुन् ।  

‘गाउँले एफएम दाइ’
०५८ सालतिर, डौँसुरमा खड्का सानो खुद्रा पसल थियो । पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा समान किन्न आएका मानिसलाई समाचार सुनाउनु उनको दैनिक जस्तै थियो । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियने । समाचारप्रति स्थानीयको चासो बढी थियो । रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगन्जको बागेश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँहरुलाई चर्को ‘भोल्युम’मा सुनाउँथे ।
‘आज यो ठाउँमा यस्तो भीडन्त भयो, यतिजनाको मृत्यु भयो, यतिजना घाइते भए भनेर सबैलाई भन्थेँ,’  विविसि सुनेर विश्वका घटना पनि ज्ञान ल्न्थिे । त्यहीबेला माओवादीकै ‘रिवल’ ले  उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए, अहिले नगेन्द्र नामले होइन । उनले गाउँले एफएमदाई नामले चिनिन्छन् । 
खड्का लोकगीत र देउडामा रुची छ । ‘०४३ सालतिर रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल समेत ठाडीभाका गाउँथे,’ उनी भन्छन्, ‘त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–संगीततर्फ लगाव रह्यो ।’
देउडा र लोकगीतमा उनको खास रुचि छ । केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा उनी पुग्थे र बोल्थे–गाउँथे । गाउँले लबज र प्रस्ट आवाजमा गीत गाउने उनी कतिपय श्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित थिए । घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै बारीमा काम गर्छन् । 
बजार बुझेर उत्पादन गर्दा आम्दानी 
बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आई हाल्छ । नत्र त्यतिकै तरकारी खेर जाने उनी बताउँछन् । ०७८ वैशाखमा मंसिरमा आम चुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन भनेर बारीमा तरकारी लगाए । मंसिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । ‘निर्वाचनको अवधिमा ६ क्विन्टल त बन्दा बेचे । उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको माला समेत लगाइएको थिए,उनले थपे  ।’


 सिमी, काँक्रा, चिचिन्डो लगायतको बिउ पनि आफैँ उत्पादन गर्छन् । हाइब्रिड जातको बिउ भने पसलबाट खरिद गर्छन् । २०८० फागुन–चैतमा मात्र २५ हजार रुपैयाँ बराबरको चिचिन्डोका बेर्ना बिक्री गरे । ‘मैले तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु,’ । ‘यसपालि दुई सय बोट काउली र त्यही अनुपातमा वन्दा लगाएको थिए, राम्रै फलेको छ ।’
खड्काको बारीमा  यतिखेर एक क्विन्टलजति काँक्रा बिक्रीका लागि तयार छन्, चिचिण्डो पनि लटरम्म फलिरहेका छन् । अहिले चिचिन्डो प्रतिकेजी सय रुपैयाँमा बिक्री भइरहेको छ । ठुला दुईवटा टनेलमा ६ क्विन्टलजति गोलभेडा तयार छन् । ‘एउटा बोटमा ३–४ केजीसम्म टमाटर फल्छ,’ उनले भने, ‘भर्खरै मात्र २५ सय रुपैयाँको टमाटर बेचेर आएँ । अर्गानिक टमाटर हो यो, ६० रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।’

कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउँदा रहेछन् । मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन । हँसिला र जोसिला हुदै भन्छन्, ‘अर्गानिक मल नै फालाफाल छ ।  बजारिया मल किन किन्नु, माटो बिगार्छ ।’एक दशक अघिदेखी  व्यावसायिक तरकारीखेती सुरु गरेका हुन् ।  परम्परागत रूपमा खेती गर्दै आएका खड्काले अहिले सम्म गैरसरकारी संघ संस्थाको सहयोग पाए पनि राज्यबाट कुनै अनुदान वा पाएका छैनन् । मैले मिहेनतले नै पुरस्कार पाए । राज्यले दिने करौडौ अनुदान झोलामै तरकारी फलाउने झोलामै बाख्रापालन गर्ने विचौलियाले पाउँछन । हामी जस्ता किसानले सरकारले दिने अनुदान पाए । अधिकाँश मानिस गाउँमै रोजगारी हुने थिए । 
तरकारीखेतीका लागि उनलाई सिँचाइको समस्या छ । एकपटक सेवक नाम गरेको एक संस्थाले उनलाई पाल दिएको थियो । पालको छानो राखी उनले बारीनजिकै पोखरी बनाएका छन् । ‘वरपर पानीको ठुलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ,’ उनी भन्छन् ।
कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँलेलाई जचेतना दिन्छन् । कसरी ठुलो र फलाउने भन्नेबारे अध्ययन गर्छु,’ उनी भन्छन्, ‘तरकारी लगाउनुभन्दा एक महिनाअघि बारीलाई तयार गरेको हुन्छ, प्रत्येक बोट लगाउँदा एक हात गहिराई र चौडा पनि मिलाएर खन्छु ।’ 
सबैभन्दा राम्रो बाली प्रदर्शन गरेका खड्काले चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार पाएका थिए ।  ‘एउटा मामुली कृषकका लागि पुरस्कार पाउनु निकै ठुलो हो, यसले हौसला प्रदान गर्छ,’ उनले भने । 
रेडियोबाट टिकटिकतिर गाउँले एफएमदाई 
हरे मानिसका आ आझ्ना सोख हुन्छन् । ती सोख पुरा गर्न मानिस लागि परिरहेको पनि हुन्छन् । कुनै बेला रेडियोप्रेमी वनेका खड्का आजभोली टिकटकतिर मोडिएका छन् । कृषिबारे जानकारीमूलक भिडिओ बनाएर उनले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्छन् । तर खड्काको भने कसैले सहयोग गरिदिए एउटा गीत रेर्कड गर्न चाहाना रहेछ । अब त्यो मनको इच्छा कसले पुरा गरिदिने होला । 

प्रतिक्रिया