राउटे युवाको मृत्यु ,शोकमग्न वस्ती

राउटे युवाको मृत्यु ,शोकमग्न वस्ती मृतक युवा बृषबहादुर शाही /तस्वीर:सोसेक नेपाल

दैलेख - गएराती एकजना राउटे युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ बर्षिय बृषबहादुर शाही हुन् । गएको भदौं ३१ गते मृतकलाई उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका –१ सिमेलसाल फर्किदै गर्दा राउटे युवाको राती ९ बजे सुर्खेतको कल्यानकाँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्य कर्मी विनोद विसी बताए । 
उनले भने,मृतक युवा ६ महिना देखी विरामी थिए । हामीले सम्झाई बुझाई गर्दा बल्ल गएको भदौं ३१ मा उपचार गर्न सहमति जनाए । गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत लगियो । खगार चेक गर्दा क्षयरोग (टिवी¬) रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिवी भएको जानकारी दिए । क्यान्सर पो होकी भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन् । अस्पताल डिस्चार्ज गरिदियो । फर्किदै गर्दा बाटोमा मृत्यु भएको हो । 
  मृतक युवा कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साँईला सन्तान हुन् । यस अघि मृतकका दाजु कपिल शाहीको ६ बर्ष अघि मृत्यु भएको हो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् ।मृतक वृषबहादुर शाही सँगै राउटेको जनसंख्या घटेर १३४ झरेको छ । हाल यो समुदाय गुराँस गाउँपालिका –१ को सिमेसालमा बसोबास गरिरहेका छन् । २०७५ असार देखी यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए ।  
हर्ष उल्लासमा दुनियाँ,पिडामा राउटे 
यतिवेला गैरराउटेले शहरबजार जताततै वाजागाजा सहित संविधान जारीको ९ बर्षको हर्ष उल्लास मनाईरहेका छन् । तर फरक पहिचान,भेषभुषा र नेपालको सम्पदा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदाय पिडामा छन् । राउटेहरु गैरराउटेलाई दुनियाँ भनेर चिन्छन् । राउटे युवा बृषबहादुर शाहीको मृत्यु भएपछि राउटे बस्ती यतिवेला शोकमग्न बनेको छ । संविधानको हर्ष उल्लास मनाउन पाएका छैनन् । एक जना सदस्यको मृत्यु हुने वित्तिकै बसाई सार्ने परम्परा भएकोले यो समुदायमा युवा सँगै बसाईसराईको पिडाले पिरोल्ने गरेको राउटे मुखिया सुर्यनारायण शाहीको भनाई छ । मुखिया भन्छन,हाम्रो समुदायमा मान्छे मर्ने वित्तिकै ठाउँ छोडनुपर्छ । अब मृतकको परम्परागत अनुसार काजकिरिया गरेर बसाईसराईतिर लाग्छौं । 

प्रतिक्रिया